रौतहट । रौतहटको चन्द्रपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन् । प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकको खोजी गरिरहेको जनाएको छ ।
चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत चन्द्रपुर नगरपालिका ८ बसन्तपुरमा बिहीबार राति सडकमा हिँडिरहेका स्थानीय ६५ वर्षीय सीताराम चौधरीलाई पहिचान नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी सत्यनारायण थापाका अनुसार दुर्घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान खुलेको छैन ।
फरार चालक र मोटरसाइकलको खोजी तीव्र पारिएको उनले बताए । ‘ठक्कर दिने मोटरसाइकलको पहिचान खुलेको छैन, खोजी भइरहेको छ,’ डीएसपी थापाले भने ।
दुर्घटनापछि मोटरसाइकल र चालकको पहिचान गर्न घटनास्थल आसपास जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज उपयोगी हुन सक्ने भएपनि ती क्यामेरा प्रभावकारी रूपमा सञ्चालनमा नरहेको स्थानीयले बताएका छन् ।
चन्द्रपुर नगरपालिकाले नगरका विभिन्न स्थानमा जडान गरेका सीसीटीभी क्यामेरा नियमित सञ्चालनमा नआउँदा दुर्घटना तथा आपराधिक घटनाको अनुसन्धान प्रभावित हुँदै आएको स्थानीयको गुनासो छ । ‘क्यामेरा चलेको भए मोटरसाइकलको नम्बर वा चालकको हुलियासम्म पत्ता लगाउन सहज हुन्थ्यो,’ एक स्थानीयले भने ।
सडक दुर्घटना तथा आपराधिक गतिविधिको अनुसन्धानमा सीसीटीभी फुटेज महत्वपूर्ण प्रमाण बन्न सक्ने भएपनि जडान गरिएका क्यामेरा नियमित सञ्चालन र निगरानीको अभावमा प्रभावहीन बनेको स्थानीयको आरोप छ ।
प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको र ठक्कर दिने मोटरसाइकल तथा चालकको पहिचान गरी नियन्त्रणमा लिने प्रयास भइरहेको जनाएको छ ।




