पश्चिम नवलपरासी । चार दिनदेखि लगातार परेको अविरल वर्षाका कारण नारायणी नदीको बहाव बढेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ पारि स्थित सैनिक टोलमा बाढीको पानी पसेको छ । पानीको सतह बढ्दै गएपछि जोखिममा परेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताका सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको नेतृत्वमा आज सैनिक टोलबाट ७७ जनालाई डुंगामार्फत उद्धार गरिएको हो । उद्धार गरिएका स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ वारि रहेको बीपी माध्यमिक विद्यालय, बलिनगरमा स्थानान्तरण गरिएको छ ।
नारायणी नदीमा पानीको बहाव निरन्तर बढिरहेको भन्दै जोखिममा रहेका स्थानीयवासीको उद्धार तथा सुरक्षाका लागि सशस्त्र प्रहरी टोली परिचालन भइरहेको सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गणका सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति गोविन्दबहादुर खातीले जानकारी दिए ।




