जनकपुरधाम । मधेस प्रदेशमा विद्युत् चुहावट घट्दै गएको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विद्युत् चुहावट १ दशमलव ६१ प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको साउन र भदौमा कुल २२ दशमलव ५६ प्रतिशत विद्युत् चुहावट भएकोमा चालु आवको सोही अवधिमा यो दर घटेर २० दशमलव ९५ प्रतिशतमा झरेको प्राधिकरणले जनाएको छ । चालु आवको साउनमा २० दशमलव ०९ प्रतिशत र भदौमा २१ दशमलव ७६ प्रतिशत चुहावट भएको थियो ।
गत आवमा साउनमा २५ दशमलव ६७ प्रतिशत र भदौमा २३ दशमलव ५२ प्रतिशत विद्युत् चुहावट भएको थियो । प्राधिकरणका अनुसार मधेस प्रदेशमा विद्युत् चुहावट नियन्त्रणका लागि हुकिङ नियन्त्रण, ग्राहकको बिलिङ प्रणालीमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा नियमित मिटर रिडिङमा सुधार गरिएकाले चुहावट घटाउन सहयोग पुगेको हो ।
मधेस प्रदेशका वितरण केन्द्रमध्ये बाराको सिमरामा विद्युत् चुहावट सबैभन्दा कम २ दशमलव ९४ प्रतिशत रहेको छ । रौतहटको मौलापुर वितरण केन्द्रमा भने सबैभन्दा बढी ४७ दशमलव ७७ प्रतिशत चुहावट रहेको प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर शम्भु कुसियैतले जानकारी दिए ।
उनका अनुसार रौतहटको मौलापुर र गौर तथा सर्लाहीको मलङ्गवा क्षेत्रमा विद्युत् चुहावटको समस्या तुलनात्मक रूपमा बढी छ । औद्योगिक ग्राहकको सङ्ख्या धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रमा भने चुहावट कम रहेको उनले बताए ।
यसैबीच, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विद्युत् महसुल नतिर्ने ८ हजार ७८२ ग्राहकको विद्युत् लाइन काटिएको छ । लाइन काटिएकामध्ये ८ हजार २३४ ग्राहकले बक्यौता महसुल तिरेर पुनः विद्युत् जडान गराएका छन् । उनीहरूबाट रु २० करोड ९ लाख ७७ हजार बक्यौता असुल भएको प्राधिकरणले जनाएको छ ।
मिटर जडान गरी विद्युत् उपभोग गर्ने तर लामो समयसम्म महसुल नतिर्ने प्रवृत्ति बढेकाले बक्यौता असुलीका लागि लाइन काट्ने अभियानलाई निरन्तरता दिइएको प्रमुख कुसियैतले बताए । गत आर्थिक वर्षमा मात्रै ४२ हजार ६६४ ग्राहकको लाइन काटिएको थियो । त्यसक्रममा रु १ अर्ब ४७ लाख बक्यौता असुल भएको प्राधिकरणको तथ्यांक छ ।
प्राधिकरणका अनुसार मधेस प्रदेशमा औद्योगिक ग्राहकको हिस्सा ५९ प्रतिशत र घरेलु ग्राहकको हिस्सा ३१ प्रतिशत छ । प्रदेशका ९९ दशमलव ९९ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ । बाँकी क्षेत्रमा पनि विद्युत् विस्तारको काम भइरहेको प्रमुख कुसियैतले बताए । मधेस प्रदेशका जिल्लामा सिँचाइतर्फ भने करिब १० प्रतिशत मात्रै विद्युतीकरण भएको प्राधिकरणले जनाएको छ ।




