सर्लाही । सर्लाहीको हरिपुर नगरपालिका ८ जगतपुरस्थित स्कुलअगाडि म्याजिक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
शनिबार भएको दुर्घटनामा मोटरसाइकल चालक मलङ्गवा नगरपालिका ७ गणेशियाका ३० वर्षीय अरविन्द साहको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका साहलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार नवलपुरबाट मलङ्गवातर्फ जाँदै गरेको ना १ ज ६३०८ नम्बरको म्याजिक र मलङ्गवाबाट नवलपुरतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–०१० प २२२१ नम्बरको मोटरसाइकल नवलपुर–मलङ्गवा सडकखण्डमा ठोक्किएका थिए ।
दुर्घटनामा संलग्न म्याजिक र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।




