रौतहट । बैंक तथा ई-सेवाका कर्मचारी भएको बहाना गरी केवाईसी अपडेट गर्ने नाममा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा रौतहट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार २२ जनाबाट कुल ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित सीतामढी जिल्लाको बैगनिया घर भई गौर नगरपालिका ३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका ५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार असोज २३ गते गौर नगरपालिका ३ को पोखरिया टोल र वडा नम्बर ५ को कोइरी टोलमा छापा मारेर उनीहरूलाई पक्राउ गरिएको थियो । प्रहरीले आरोपितहरूमाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
फोन र ह्वाट्सएपबाट सुरु हुन्थ्यो ठगी
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार आरोपितहरूले योजनाबद्ध रूपमा सर्वसाधारणलाई फोन गरी उनीहरू मोबाइल बैंकिङ प्रयोगकर्ता हुन् वा होइनन् भन्ने पहिचान गर्ने प्रयास गर्थे । मोबाइल बैंकिङ प्रयोग गर्ने व्यक्तिको पहिचान भएपछि बैंक वा ई-सेवाको कर्मचारी भएको झूटो परिचय दिँदै केवाईसी अपडेट गर्नुपर्ने भन्दै फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गरिन्थ्यो ।
यसरी सम्पर्कमा आएका व्यक्तिलाई विश्वासमा पारेपछि भिडियो कल गर्ने, मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र गुगल फारम भर्ने बहानामा बैंकिङसम्बन्धी विवरण प्राप्त गर्ने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार यसरी प्राप्त विवरणको दुरुपयोग गरी पीडितको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच बनाइन्थ्यो । त्यसपछि खातामा रहेको रकम अन्य व्यक्तिका बैंक खातामा तथा क्यूआर कोडमार्फत स्थानान्तरण गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बैंकिङ कर्मचारी भएको झूटो परिचय दिएर सुरु हुने ठगीमा मोबाइलको स्क्रिन शेयर गराउने र बैंकिङ विवरण प्राप्त गर्ने तरिका प्रयोग गरिएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
ठगीको रकम डलर र क्रिप्टोकरेन्सीसम्म पुर्याइएको आशंका
प्रहरीले ठगीबाट प्राप्त रकम अमेरिकी डलरमा रूपान्तरण गरी बाइनान्स एपमार्फत स्थानान्तरण गरिएको तथा क्रिप्टोकरेन्सीमा लगानीसमेत गरिएको हुन सक्ने आशंका गरेको छ ।
यद्यपि, रकमको वास्तविक प्रवाह, डिजिटल कारोबारमा प्रयोग भएका खाताहरू तथा क्रिप्टोकरेन्सीसँगको सम्बन्धबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । २२ जनाको उजुरीबाट खुलेको करिब ५० लाख रुपैयाँको कारोबारमा अन्य व्यक्ति तथा खाताहरूको भूमिका के थियो भन्ने विषयमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।
नगद, मोबाइल, सिमकार्ड र बैंकका चेक बरामद
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र भारतीय रुपैयाँ ३ हजार २३६ बरामद गरिएको छ । त्यसैगरी, सात थान मोबाइल, ११ थान सिमकार्ड, बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरिएका ३० थान भौचर, तीन थान एटीएम कार्ड, तीन थान चेकबुक, एक थान पेनड्राइभ र दुई थान मेमोरी कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले रकमको हिसाबकिताब, खातावालालाई फोन गर्दा प्रयोग गरिने संवाद तथा मोबाइलको स्क्रिन शेयर गराउने तरिकाबारे लेखिएका डायरी र कापी समेत फेला पारेको जनाएको छ ।
बरामद सामाग्रीमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँको एक थान चेक, ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको एक थान चेक तथा विभिन्न बैंकिङ विवरण उल्लेख गरिएका कागजात समेत रहेका छन् । बरामद सामाग्री र कागजातको ठगी तथा डिजिटल कारोबारसँगको सम्बन्धबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
मुख्य योजनाकारसहित अन्य व्यक्तिको खोजी
प्रहरीका अनुसार घटनामा संलग्न मुख्य योजनाकारसहित अन्य व्यक्तिहरूको पहिचान भइसकेको छ । उनीहरूको खोजी भइरहेको एसपी रिजालले जानकारी दिए । ठगीबाट प्राप्त रकम कहाँ कहाँ पुर्याइयो, कुन कुन बैंक खाता तथा डिजिटल माध्यम प्रयोग गरिए र घटनामा अन्य कति व्यक्ति संलग्न छन् भन्ने विषयमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।
स्क्रिन शेयर नगर्न प्रहरीको आग्रह
अनलाइन ठगीबाट जोगिन बैंक वा डिजिटल वालेटको केवाईसी अपडेट गर्ने भन्दै अपरिचित व्यक्तिले फोन गरेमा सतर्क रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । प्रहरीले अपरिचित व्यक्तिको आग्रहमा मोबाइलको स्क्रिन शेयर नगर्न, ओटीपी, पिन, पासवर्ड तथा बैंकिङ विवरण उपलब्ध नगराउन र शंका लागेमा सम्बन्धित बैंक वा डिजिटल वालेटको आधिकारिक माध्यमबाट पुष्टि गर्न सुझाव दिए ।
यस्ता ठगीमा परेका अन्य व्यक्तिलाई समेत प्रहरी कार्यालयमा सम्पर्क गरी उजुरी दिन आग्रह गरिएको छ । तीन जना पक्राउ परे पनि घटनाको वास्तविक सञ्जाल, रकमको अन्तिम गन्तव्य र अन्य संलग्न व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान जारी छ । प्रहरीले अनुसन्धानबाट थप तथ्य खुल्दै जाने जनाएको छ ।




