बारा । बाराको सुवर्ण गाउँपालिकास्थित सीमा क्षेत्रबाट भन्सार छली गरी भारतबाट नेपाल भित्र्याउन लागिएका साडी, धोती र तीनवटा मोटरसाइकलसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपालका अनुसार बरामद कपडा र मोटरसाइकलको कुल अनुमानित मूल्य ११ लाख ४६ हजार रुपैयाँ रहेको छ । बरामद सामाग्रीमध्ये ६ लाख ९६ हजार रुपैयाँ मूल्यका साडी तथा धोती र ४ लाख ५० हजार रुपैयाँ मूल्यका तीनवटा मोटरसाइकल छन् ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार असोज २७ गते राति सुवर्ण गाउँपालिका ३ स्थित पचगछिया क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले उक्त सामाग्री बरामद गरेको हो ।
सीमा क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा सीमा सुरक्षा गुल्म पिपरपाती र बोर्डर आउट पोस्ट (बीओपी) बेनौलीबाट खटिएको संयुक्त टोलीलाई देखेपछि केही व्यक्ति भाग्न खोजेका थिए । सोही क्रममा प्रहरीले एक जनालाई नियन्त्रणमा लिन सफल भएको जनाएको छ ।
पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका ३ अमवा निवासी २८ वर्षीय हरिप्रसाद यादव रहेका छन् । घटनास्थलबाट प्रहरीले बीआर ०५ एम ७४८९, बीआर ०५ सी ९६२१ र बीआर ०५ के ४६७५ नम्बरका तीनवटा मोटरसाइकल समेत बरामद गरेको छ ।
भन्सार छली गरी सामान ओसारपसार गरेको आरोपमा पक्राउ परेका यादवलाई बरामद सामाग्रीसहित आवश्यक कानुनी कारबाहीका लागि बुधबार वीरगन्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
सीमा क्षेत्रमा हुने भन्सार छली तथा राजस्व चुहावट नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिँदै आएको जनाएको छ ।




