बारा । बाराको महागढीमाई नगरपालिका १ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
आइतबार बिहान करिब ११:३० बजे प्लाई फ्याक्ट्री चोकमा भएको उक्त दुर्घटनामा कलैया उपमहानगरपालिका २१ निवासी धिरज यादवले ज्यान गुमाएका हुन् ।
बरियारपुरबाट कलैयातर्फ जाँदै गरेको बीआर १९ जी ९९२१ नम्बरको भारतीय स्कारपियोले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ८८५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएको थियो । टाउकोसहित शरीरका विभिन्न भागमा गहिरो चोट लागेका उनको उपचारकै क्रममा बिहान ११:५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका १६ वर्षीय नगेश साह र १८ वर्षीय अरुण यादव पनि घाइते भएका छन् । साहको दाहिने हात, अनुहार र बायाँ खुट्टामा चोट लागेको छ भने यादवको दाहिने हात र खुट्टामा चोट लागेको छ । दुवै जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न स्कारपियो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्कारपियो चालक रौतहटको परोहा नगरपालिका ३ निवासी ३८ वर्षीय अरुणकुमार दुबेलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।
घटनाको अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय बाराबाट इन्स्पेक्टर विमल खतिवडाको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा परेको मोटरसाइकल प्रहरी चौकी बरियारपुरको नियन्त्रणमा रहेको छ ।
यसैबीच, वडा दशैंका कारण घर फर्किने तथा किनमेलका लागि बजार जाने मानिसहरूको चाप बढेसँगै सडकमा सवारी साधनको आवागमन पनि बाक्लिएको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी मीनबहादुर घलेले चालकहरूलाई सतर्कता अपनाएर सवारी चलाउन आग्रह गरेका छन् ।
चाडपर्वका बेला हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण गर्न तीव्र गति नियन्त्रण गर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र सावधानीपूर्वक सवारी साधन सञ्चालन गर्न प्रहरीले अनुरोध गरेको छ ।




