राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीमा कुटपिटबाट गम्भीर घाइते भएका एक व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय जुक्ति यादवका ५० वर्षीय छोरा अरबिन्द यादव रहेका छन् ।
उनी मंगलबार दिउँसो घरदेखि करिब एक किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा घाइते अवस्थामा फेला परेका थिए । घाइते यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा दिउँसो पौने ४ बजे उनको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) रुपक खड्काले जानकारी दिए । उनका अनुसार यादवको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको एसपी खड्काले बताए ।
स्थानीयका अनुसार यादव खेतमा काम गर्न गएका बेला छिमेकी खेतवालासँग विवाद भएको थियो । विवादपछि अन्य गाउँलेलाई समेत बोलाएर उनीमाथि कुटपिट गरिएको स्थानीयको भनाइ छ । कुटपिटबाट घाइते भई यादव खेतमै लडेपछि संलग्न व्यक्तिहरू फरार भएका थिए ।




