झापा । झापाको बाह्रदशी गाउँपालिकामा जंगली हात्तीको आक्रमणबाट एकै गाउँका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका २ जनता चोक निवासी ७० वर्षीया लजुमा खातुन र ७३ वर्षीय झक्कु राजवंशी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवालेका अनुसार बिहीबार बिहान करिब ५ः३० बजे बिरिङ खोला नजिकै बिहानको पदयात्रामा रहेका उनीहरूमाथि दुईवटा जंगली हात्तीले अचानक आक्रमण गरेका थिए ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी खातुनको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । राजवंशीको भने उपचारका क्रममा बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।




