काठमाडौं । अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा लुटपाटका क्रममा गोली चलेपछि नेपाली व्यवसायी तारा मान सेन्चुरी पसलभित्र मृत फेला परेका छन् ।
फेयरफिल्ड प्रहरीका अनुसार मंगलबार दिउँसो करिब १ बजेअघि Everest Jewels & Clothing मा गोली चलेको सूचना प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो । पसलभित्र एक पुरुष मृत अवस्थामा फेला परेका थिए । मृतक उक्त पसलका सञ्चालक सेन्चुरी रहेको उनका साथीले बताएका छन् ।
घटनापछि डिक्सी हाइवेमा रहेको पसलसहित आसपासको व्यापारिक क्षेत्र केही घण्टासम्म बन्द गरिएको थियो । प्रहरीले घटनास्थलमा अनुसन्धान गर्दै सम्भावित संदिग्धको खोजी गरिरहेको छ । हालसम्म संदिग्ध व्यक्तिबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।
मृतकका साथी तारा दाहालका अनुसार सेन्चुरी नेपालदेखि नै उनका परिचित थिए । नेपालमा छिमेकी समेत रहेका सेन्चुरी मिलनसार, सहयोगी र दयालु स्वभावका व्यक्ति रहेको उनले बताएका छन् ।
दाहालले घटनापछि स्थानीय नेपाली समुदाय तथा आसपासका व्यवसायीहरू त्रसित बनेको बताएका छन् । अमेरिका आएर आफ्नो सपना पूरा गर्न मेहनत गरिरहेका आप्रवासीहरूले देश र स्थानीय समुदायमा योगदान पुर्याउँदै आएको उल्लेख गर्दै उनले सेन्चुरीको मृत्यु दुःखद घटना भएको बताए ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले आसपासका व्यवसायीलाई आफ्ना निगरानी क्यामेराका दृश्य जाँच गर्न आग्रह गरेको छ । साथै, घटनासम्बन्धी जानकारी भएका व्यक्तिलाई प्रहरीसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रहरीले घटनाबारे जानकारी हुने व्यक्तिलाई सर्जेन्ट ब्रायन कार्नेसको नम्बर 513-867-6005 वा फेयरफिल्ड प्रहरी विभागको नम्बर 513-896-8200 मा सम्पर्क गर्न आग्रह गरेको छ ।




