काठमाडौं । सुनसरीको कोशी गाउँपालिका १ लौकहीस्थित भित्री सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बिहीबार दिउँसो करिब १:५० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०५७ प ७२६१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५७ प ०१३७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा भोक्राहा नरसिंह गाउँपालिका ३ का २२ वर्षीय अर्जुन यादवको मृत्यु भएको छ । ०१३७ नम्बरको मोटरसाइकलका चालक यादवलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा दिउँसो करिब ३ः५० बजे उनको मृत्यु भएको हो ।
सोही मोटरसाइकलमा पछाडि सवार भोक्राहा नरसिंह गाउँपालिका ३ का २३ वर्षीय विशाल यादव गम्भीर घाइते भएका छन् । जिल्ला अस्पताल इनरुवामा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ ।
त्यस्तै, ७२६१ नम्बरको मोटरसाइकलका चालक भोक्राहा नरसिंह गाउँपालिका ४ का १९ वर्षीय सिद्धार्थ उराव र सोही मोटरसाइकलमा सवार कोशी गाउँपालिका १ का १९ वर्षीय रोहित उराव मध्यम घाइते भएका छन् ।
दुवै जनालाई जिल्ला अस्पताल इनरुवामा सामान्य उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ । दुर्घटनामा घाइते तीनै जनाको उपचार भइरहेको छ ।




