जनकपुरधाम । जनकपुरस्थित प्रादेशिक अस्पतालमा जन्मिएको नवजात शिशु साटिएको आशंका गर्दै एक बाबुले डीएनए परीक्षण गराउन माग गरेका छन् । महोत्तरीको भङ्गहा नगरपालिका ९ निवासी २४ वर्षीय अरुण सदाले घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिएका हुन् ।
अरुणका अनुसार, उनकी २० वर्षीया पत्नी सरितालाई प्रसव व्यथा लागेपछि शुक्रबार अपराह्न ४ बजे जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन साँझ ६ बजेर ३७ मिनेटमा उनले शिशुलाई जन्म दिएकी थिइन् ।
अरुणले बच्चा जन्मिएपछि आफू र परिवारका अन्य सदस्यलाई देखाउँदा छोरा रहेको तर केही समयपछि पुन: हेर्दा छोरी देखिएको दाबी गरेका छन् । अस्पतालका नर्सले पनि छोरी नै भएको बताएपछि शिशु साटिएको हुन सक्ने आशंका उत्पन्न भएको उनको भनाइ छ ।
आफूले देखेको र पछि अस्पतालका कर्मचारीले बताएको विवरण फरक परेको भन्दै अरुणले घटनाको वास्तविकता पत्ता लगाउन डीएनए परीक्षण आवश्यक रहेको बताएका छन् ।
उनले शनिबार जिल्ला प्रहरी कार्यालय धनुषामा निवेदन दिँदै नवजात शिशु र आफ्नो डीएनए परीक्षणका लागि नमुना संकलन गरिदिन माग गरेका हुन् । यद्यपि, शिशु साटिएको विषयमा स्वतन्त्र पुष्टि भइसकेको छैन ।




