काठमाडौं । रियादस्थित नेपाली दूतावासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । दूतावासले मंगलबार सूचना जारी गर्दै साउदी अरबमा बसोबास तथा रोजगारी गरिरहेका नेपालीलाई सुरक्षा सावधानी अपनाउन, आधिकारिक निर्देशन पालना गर्न र अपुष्ट सूचना नफैलाउन अनुरोध गरेको हो ।
दूतावासले विशेष गरी सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ । स्थानीय प्रशासन तथा सम्बन्धित आधिकारिक निकायबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र सुरक्षा निर्देशन पालना गर्न समेत सुझाव दिएको छ ।
दूतावासले साउदी अरबको सुरक्षा अवस्थासम्बन्धी आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, सूचना, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । अपुष्ट सामाग्री सेयर वा पोस्ट गर्दा भ्रम फैलिन सक्ने भएकाले आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र विश्वास गर्न दूतावासले अनुरोध गरेको हो ।
दूतावासले साउदी अरबबाट नेपाल वा अन्य मुलुकमा हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीलाई समेत विशेष सावधानी अपनाउन भनेको छ । यात्रा गर्नुअघि आफ्नो उडानको निर्धारित तालिकामा परिवर्तन भए–नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट पुष्टि गर्न दूतावासले आग्रह गरेको छ ।
उडानको अवस्था यकिन गरेर मात्र विमानस्थलतर्फ प्रस्थान गर्न सुझाव दिइएको छ ।
हुथी विद्राेही समूहकाे आक्रमणका कारण साउदी अरबमा तनाव बढेकाे छ ।




