पर्सा । हिउँदे बालीका लागि भारतबाट खरिद गरिएको रासायनिक मल वीरगन्ज नाकाबाट धमाधम भित्रिन थालेको छ । सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत खरिद गरिएको युरिया र डीएपीमध्ये हालसम्म १८ हजार ७१५ टन मल वीरगन्जस्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयले प्राप्त गरिसकेको छ ।
कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दिनेश शर्माका अनुसार भारतबाट खरिद गरिएको ३० हजार टन युरियामध्ये ११ हजार ६३० टन र २० हजार टन डीएपीमध्ये ७ हजार ८५ टन मल वीरगन्जमा भित्रिएको हो । डेढ महिनायता यी दुई प्रकारका मल आयात भइरहेको उनले बताए ।
सरकारले जीटुजी प्रक्रियामार्फत खरिद गरेको कुल ५० हजार टन युरिया र डीएपीमध्ये ३८ प्रतिशत मल वीरगन्ज प्रादेशिक कार्यालयले प्राप्त गर्ने व्यवस्था छ । बाँकी मल विराटनगर र भैरहवा प्रादेशिक कार्यालयलाई उपलब्ध गराइने शर्माले बताए ।
भैरहवा कार्यालयका लागि छुट्याइएको मलसमेत वीरगन्ज नाकाबाट आयात भइरहेको छ । वीरगन्जमा भित्रिएको मल सम्बन्धित प्रादेशिक कार्यालयमा पठाउने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
अहिले आयात भइरहेको मल आगामी हिउँदे बालीका लागि वितरण गरिने कम्पनीले जनाएको छ । विशेष गरी गहुँ र तेलहन बाली लगाउने समयमा युरिया र डीएपीको माग बढ्ने भएकाले सोहीअनुसार मल वितरणको तयारी भइरहेको शर्माले बताए ।
हिउँदे बाली लगाउने समय नजिकिँदै गर्दा किसानलाई आवश्यक मल उपलब्ध गराउन आयातलाई प्राथमिकता दिइएको कम्पनीको भनाइ छ । भारतबाट जीटुजी प्रक्रियामार्फत खरिद गरिएको मलले गहुँ तथा तेलहन खेतीका लागि आवश्यक रासायनिक मलको आपूर्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




