सिरहा । सिरहामा २५ हजार ५ सय रुपैयाँ बराबरका नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति करिब ९ बजे सिरहा नगरपालिका ७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा पैदल हिँडिरहेका दुई जनाको साथबाट उक्त रकम बरामद भएको हो ।
प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार विशेष सूचनाका आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले शंका लागेर जाँच गर्ने क्रममा कल्याणपुर नगरपालिका ८ का ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाको साथबाट नक्कली नोट फेला परेको जनाएका छन् ।
उनका अनुसार हुसेन र मिँयाको साथबाट ५०० दरका तीन थान र १ हजार दरका २४ थान गरी जम्मा २७ थान नोट बरामद भएको र बरामद नोट २५ हजार ५ सय रुपैयाँ रहेको छ । दुवै जनालाई बरामद रकमसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




