काठमाडौं । मधेस प्रदेशमा सरकार गठनका लागि दलहरूबीच नयाँ समीकरणको खोजी चलिरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पनि सरकारबाट बाहिरिएको छ । नेकपाले आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाउँदै नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नेतृत्वको सरकारसँगको सहकार्य अन्त्य गरेको हो ।
नेकपाको यो निर्णयसँगै मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा अब अर्को राजनीतिक संकट थपिएको छ । अबको एक सातापछि विश्वासको मत लिनै पर्ने बाध्यतामा रहेका मुख्यमन्त्री यादव अब झन संकटमा परेका हुन् ।
यसअघि सरकारमा सहभागी नेकपा एमालेले असोज ३० गते नै आफ्ना मन्त्री फिर्ता बोलाइसकेको थियो । एमाले बाहिरिएपछि नेकपाको साथमा टिकेको सरकारलाई अब नेकपाले पनि छाडेको छ । नेकपा संसदीय दलका नेता तथा अर्थमन्त्री युवराज भट्टराईले प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्न आफूहरूले सरकार छाड्ने निर्णय गरेको बताए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि बसेको संसदीय दलको भर्चुअल बैठकले सरकारबाट अलग हुने निर्णय गरेको थियो । त्यसअनुसार अर्थमन्त्रीसमेत रहेका संसदीय दलका नेता भट्टराईसहित चार मन्त्रीले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा भट्टराईसँगै उद्योग तथा पर्यटनमन्त्री कनिष पटेल, गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री जवाहर कुशवाहा छन् । मधेस प्रदेशमा पछिल्लो समय सरकार परिवर्तनको विषयले राजनीतिक दलहरूलाई नयाँ समीकरणको खोजीमा पुर्याएको छ ।
एमालेले सरकार छाडेपछि कांग्रेस नेतृत्वको सरकारलाई आवश्यक समर्थन जुटाउनुपर्ने अवस्था बनेको थियो । तर, त्यसको निकास खोज्ने क्रममा नेकपा पनि सरकारबाट बाहिरिएको छ ।




