नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलशपुरस्थित बेलशपुर–गोपिगञ्ज गण्डक नहरको भित्री सडकखण्डमा तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
आज साँझ करिब ६:१० बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ५३ बीभी ९७५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । सोही क्रममा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ५६ एक्स २९४४ नम्बरको अर्को मोटरसाइकल समेत ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकल चालक पाल्हीनन्दन गाउँपालिका ४ लोहरौली निवासी २०/२२ वर्षीय उसमान पठानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारका क्रममा साँझ ७:०८ बजे मृत्यु भएको हो ।
दुर्घटनामा रामग्राम नगरपालिका १७ पिपरहवाका १९ वर्षीय ईसराफिल अंसारी र ३९ वर्षीय प्रमोद तेली घाइते भएका छन् । अंसारीको टाउको र बायाँ खुट्टामा चोट लागेको छ भने तेलीको टाउको र कम्मरमा चोट लागेको छ । दुवै जनाको अवस्था मध्यम रहेको र थप उपचारका लागि सिद्धबाबा अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै, पाल्हीनन्दन गाउँपालिका ३ बेलशपुरका १६ वर्षीय मोहम्मद राजा पठानको दाहिने हात र खुट्टामा चोट लागेको छ । सोही स्थानका १७ वर्षीय सत्यम हरिजनको टाउकोमा चोट लागेको छ । दुवै जनाको अवस्था मध्यम रहेको छ । थप उपचारका लागि मोहम्मद राजालाई सिद्धबाबा अस्पताल र सत्यमलाई लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ ।
दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकलमा पछाडि सवार पाल्हीनन्दन गाउँपालिका ४ लोहरौली निवासी १८ वर्षीय फिरोज अली देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




