- गाैरी मल्ल
१. थाहा छैन किन आज पनि सम्बोधनदेखि
पहिला नै किन तर्सिन्छ मन !
तिन्का तिन्का छरिएर बसेको कथाहरु
विभाजित कतै हराउँछ झन् !
काम छैन कि के हो खै विधाता
आजकाल बेहोशी झैँ अभिनय गर्छ !
जस्को पायो त्यसकाे गलामा किन
मायाको बेकार पाशोले कस्छ !
जिस्काउँछ जिन्दगी पनि कहिलेकाहिँ
अनायास नै कोही अगाडी धकेलिदिन्छ !
आफ्नो व्यथा लथालिङ छरपस्ट हुँदा
भाग्य पनि अल्मलाउने जमर्को गर्छ !
बलियो गाँठो पारी लुकाइराखेको
हृदय नै पो लौ कता हराएँ !
गल्ती विना नै कैद भएछ आज
बेकसुर मन बिचरा भोग्दैछ सजाय !
२. दिनानुदिन च्याँतिदैछ
अहंकारको त्यान्द्रो पनि,
मसिना हुँदै बिलाउँदैछन्
सर्वश्रेष्ठ हुनुको अर्थ पनि,
पृथ्वीको गोलाद्र्ध एउटा
सन्नाटा भित्र कैद भैइरहेछ ।
वर्तमान अनि भविष्य
दुबै एक अर्कासँग त्रसित छ ।
म, मेरा बन्धु बान्धव,
इष्टमित्र, आफन्त अनि
चिर परिचित् भूगोलबासी ।
कसैको कसिलो बन्धनमा,
सुनको पिँजडा भित्र कैद गरिए जस्तो
समयको थप्पड यस्तो लागेको छ कि,
एक्लै बाँच्नु नै जीवन हो जस्तो !




