काठमाडौं । बाल्यकालमा खास लाग्ने हरेक कुरा उमेर बढ्दै गएपछि त्यति विशेष लाग्दैनन् । उमेर बढ्दै जाँदा थपिने जिम्मेवारीले रहरलाई फिका बनाउँदै लैजान्छ र अभावका कारण उसलाई हरेक चाडपर्व बोझ लाग्न थाल्छ ।
दशैं पनि यस्तै हो । सानोमा दशैं भन्नेबित्तिकै नयाँ लुगा, पिङ्ग र मासु विशेष लाग्छ । अभिभावकले हरेक रहर पुर्याइदिने हुँदा रहर गर्न पनि रहर हुन्थ्यो । तर अहिले परिवारका रहर र जिम्मेवारी आफ्नो काँधमा परेपछि दशैं पनि बोझ लाग्छ धेरैलाई ।
टिकाटालो, नयाँ कपडा, माछामासु, पाहुनाको सत्कार, घर रंगरोगन, छोराछोरीका रहर, यी यावत् कारण ‘दशैं पाँच वर्षमा एक पटक आए पनि हुन्थ्यो’ भन्नेहरु पनि छन् । काेहि त दशैं नै नआइदिए हुन्थ्याे जत्तिकै गर्छन् ।
त्यसैले पनि हरकाेहीलाई बाल्यकालकाे दशैं नै खास लाग्छ, न चिन्ता, न सुर्ता ।
हाँस्य कलाकार माग्ने बुढा अर्थात् केदार घिमिरेलाई पनि बाल्यकालमा दशैं निकै रमाइलो लाग्थ्यो । सानोमा टीका लगाएर पाँच रुपैयाँ दक्षिणा पाउँदा पनि मन चंगा हुन्थ्यो । कलाकार घिमिरे भन्छन्, ‘त्यतिबेला पाँच रुपैयाँँको पनि ठुलो महत्व हुन्थ्यो । अझ बुवा दशैंको किनमेल गरेर बजारबाट आउँदै हुनुहुन्छ भनेपछि त कतिबेला दिन बित्लाजस्तै हुन्थ्यो । कस्ताे लुगा ल्याइदिनुहुन्छ हाेला भनेर उत्साहित भइन्थ्यो ।’
दशैं भन्नेबित्तिकै उनलाई धान झुलेको र खेतको आलीबाट हिँड्दै गर्दा आउने धानकाे बास्ना याद आउँछ । पाकेका अम्बा, पाक्न लागेका केरा ल्याएर धुस्रुलको स्याउलालाई केराको चेपचेपमा छिराएर पकाएकाे पनि याद छ उनलाई । सानाेमा पिङ्ग, नयाँ लुगा, अनि घुम्न जान पाउने र मिठाे मिठाे खान पाइने हुँदा दशैं विशेष लाग्थ्याे ।
बाल्यकालकाे दशैं सम्झिँदै केदार भन्छन्, ‘त्यतिबेला साथीभाइ भेला भएर कसले कस्तो लुगा लगाएछ भनेर हेरिन्थ्यो । बा बजारबाट आउँदै हुनुहुन्छ भन्ने कुराले अझ खुशी हुन्थ्यो मन । माग गरिन्थ्यो, सबै पुरा नभए पनि केही माग पुरा हुन्थे । बा कतै आइपुग्नु भयो कि भनेर बाटो कुरिन्थ्यो । दशैंमा प्राय चेक सर्ट र हाफ पाइन्ट ल्यादिनुहुन्थ्याे बुवाले ।’
बाले बजारबाट ल्याएका पाेका खाेल्दाका खुशी त अहिले कुनै कुराबाट पनि पाइँदैन भन्छन् उनी । ‘कुनै कुराको माग पुरा नभएको अवस्थामा बुवाले तैँले भनेको चिज त पाइएन भन्नुहुन्थ्यो, सायद अभावले होला । अथवा फुर्मास खर्च गर्न नचाहनु भएको होला ।’
उनलाई सानाेमा पाउराेटी खुबै मिठाे लाग्थ्याे । मासु त झन् खास लाग्ने नै भयाे, त्यतिबेला अहिलेजस्ताे जहाँतहीँ, जतिबेला पनि पाइँदैन थियाे । ‘बुवाले बजारबाट पाउरोटी ल्याइदिनुहुन्थ्यो, त्यो दुधमा खान साह्रै मिठो लाग्थ्यो । अनि मासु । मासु सधैँ खान पाइँदैन थियो । गाउँमा पसल थिएन । दशैंमा अलि धेरै खान पाइन्थ्याे । दशैँ भनेपछि बेस्सरी मासु खान पाइन्थ्यो भन्ने लाग्थ्यो, रहर हुन्थ्याे त्यतिबेला ।’
‘झगडा गरी-गरी पिङ खेलिन्थ्यो । पिङबाट धेरै पटक लडियो । दक्षिणाका लागि धेरै पटक रोइयो । पढ्नु लेख्नु, ठुलो हुनु, ज्ञानी हुनु यस्तै आशिष दिन्थे । अहिले पनि ठुलाे त भएकाे छैन तर ज्ञानी चाहीँ छु । मेरो पालामा जे थियो मेराे सन्तानकाे पालामा त्याे अवस्था छैन । उनीहरुले अहिले जे कुरामा रमाइलो गरिरहेका छन्, त्यो चीज हाम्रो पालामा थिएन । उनीहरु अहिलेका आधुनिक कुराहरुमै रमाउँछन्,’ उनले भने ।
अहिले खासै विशेष लाग्दैन दशैं कलाकार घिमिरेलाई । उनलाई अहिले दशैं विशेष लाग्ने भनेको आफन्तहरु भेट्न पाइन्छ भनेर मात्रै हो । अघि पछि व्यस्त भइन्छ । आर्शिवादकै लागि पनि दशैंमा उनी परिवारसहित घर पुग्छन् । उनी भन्छन्, ‘मेरो हजुरआमाको सात भाइ छोरा र चार बहिनी छोरी । सबैजना जम्मा भएर एकैपटक बसेर टिका लगाइन्थ्यो । पालो पर्खेर टिका लगाइन्थ्यो ।’
000 000 000
मकवानपुर, ठिंगनका घिमिरेले सन् २००२ बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । २०४९ सालमा केदारले एलएलसी पास गरेका उनले काठमाडौं बहुमखी क्याम्पसमा कानुन पढ्न थाले ।
क्याम्पस पढ्न काठमाडौं जाने तयारी गर्दै थिए घर आगलागी भयो । घरमात्र जलेन, जग्गापास गर्न ठीक्क पारेको ९६ हजार रुपैयाँ पैसा पनि जल्यो । अर्थात्, घिमिरे परिवारको सपना खरानी भयो । अब पढ्नलाई काठमाडौं जाने पैसा समेत भएन । त्यसकाे केही समयपछि कामका शिलशिलामा काठमाडाैं आउँदा उनले पढ्ने अवसर पनि पाए । तर आईए पास गर्न भने सकेनन्, त्यहीँ पूर्णविराम लाग्यो पढाइ ।
केहि समय काठमाडाैं बसेपछि उनलाई घर फर्कन मन लागेन । काठमाडाैंमा उनले बालुवा बाेक्ने, खाक्सी घाेट्नेदेखि लिएर साइकलमा मसला बेच्नेसम्म काम गरे तर साेचेजस्ताे पैसा कमाउन भने सकेनन् । दिनभर बालुवा बोक्दा अरुले ७० रुपैयाँ पाउँथे, तर उनले भने ६५ मात्रै पाउँथे । ज्यान सानो भएकाले ठेकेदारले पैसा घटाइदिन्थे ।
संघर्षकै बिच उनले पैसा कमाउने अर्का आइडिया फुराए, नाङलोमा पसल । आफूसँग भएको पैसाले सामान किनेर लगनखेल सडकमा नाङलो पसल सुरू गरे । त्यसबाट राम्रै कमाइ भयाे । विस्तारै पसलमा सामान थप्दै गए, आम्दानी बढ्दै गयाे । तर, नगरपालिकाले सडकपेटीका पसल हटाउन थाल्यो । लुक्दै, भाग्दै सामान बेचिरहेका थिए, अत्ति भएपछि पसलै छोडिदिए ।
त्यसपछि बने, टेम्पु चालक बने । त्याे पनि सरकारले धुवा फाल्ने टेम्पु रोक्ने घोषणा गरेपछि उनले घाटा व्यहाेर्नुपर्याे, १ लाख १० हजारमा किनेको टेम्पु ३० हजारमा बेचे । त्यतिबेला उनले निकै हरेस खाएका थिए । जारी संघर्षका बिच उनले रेडियाेमा जागिर पाए ।
२०५८ सालमामा रेडियो एच.बि.सि एफएममा उनले प्रोग्राम प्रेजेन्टरको रुपमा कार्यरत उनले नेपाली हाँस्य कलाकारहरु मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, सन्तोष पन्त, गोपाल राज मैनाली, बसुन्धरा भुसाल लगायतको अन्तर्वार्ता लिएका थिए । उनले ‘हिजो आजका कुरा’ कलाकार बन्ने अवसर पाएका हुन् । त्यसपछि उनले जितु नेपालको ‘गीताञ्जली’, दमन रुपाखेतिको ‘लोक लहरी’, दिपक राज गिरिको ‘तितो सत्य’, शिवहरी पौडेल र जितु नेपालको ‘जिरे खुर्सानी’ मा समेत काम गर्ने अवसर पाए ।
केदार घिमिरेलाई कलाकारका रूपमा स्थापित भने ‘मेरी बास्सै’ ले गरायाे । ‘मेरी बास्सै’ मा उनकाे ‘माग्नेबुढा’ राेल धेरैले मन पराए । अहिले केदार भनेर नचिन्नेहरूले पनि ‘माग्नेबुढा’ भनेपछि चिनिहाल्छन् । उनले अहिले चलचित्रमा समेत अवसर पाउने गरेका छन् । घिमिरेले अहिलेसम्म ‘छ एकान छ’, ‘वडा नम्बर छ’, ‘छक्का पन्जा’, छक्का पन्जा २’, ‘रामकाहानी’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् ।




