काठमाडाैं । दुई साताअघि चलचित्र ‘डाँडाको वर पीपल’ को पत्रकार सम्मेलनमा अभिनेता शिव श्रेष्ठ, भुवन केसी, सलोन बस्नेत, अभिनेत्री गौरी मल्ल र निर्देशक शोभित बस्नेतले अभिनेता राजेश हमालको ‘महानायक’ उपाधिमाथि प्रश्न उठाए ।
अभिनेता हमालकाे ‘महानायक’ उपाधिमाथि प्रश्न उठाएपछि सबैले दर्शकदिर्घाबाट नकारात्मक प्रतिक्रियाकाे सामना गर्नुपर्याे । यसकाे असर उनीहरूमाथि मात्रै परेन, गीत ‘देउराली बनेछ ढुंगाको’ र ट्रेलरलाई पनि उतिकै असर गर्यो । असाेज ३ गते असोज ३ गते बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतले लाइक भन्दा डिसलाइक धेरै पाएकाे छ ।
गीतमा अहिलेसम्म १३ हजार लाइक आउँदा डिसलाइक ५० हजार पुगेकाे छ । भिडियो रिलिज भएको २३ दिनमा गीतले अपेक्षा अनुरूप भिउज त्यति राम्राे पाउन सकेकाे छैन, ४ लाख ५ हजार २६७ पटक मात्रै हेरिएकाे छ । भिडियोमा गीतबारे प्रतिक्रिया उनुपर्नेमा चलचित्र निर्माण टिमको विरोध र राजेश हमालको पक्षमा मात्रै प्रतिक्रियाहरु आइरहेका छन् ।
यस्तै एक साताअघि मात्रै सार्वजनिक भएकाे ट्रेलरमा पनि चार हजार लाइक आएकाे छ भने ११ हजार डिसलाइक आएकाे छ । ‘महानायक’ पदवीमाथि सवाल उठाउँदा आफ्नो चलचित्रले दर्शक नपाउने छाँट देखिएपछि ट्रेलर सार्वजनिक कार्यक्रममा शाेभितले अभिनेता राजेश हमालको तस्वीरलाई प्रमुख अतिथी बनाउँदै आफू गलत भएको बताएका थिए । यसअघि हमाललाई महानायक मान्न तयार नभएका शोभितले नकारात्मक टिप्पणी हुन थालेपछि आफू गलत भएको भन्दै महानायक राजेश हमाल नै भएको उनले बताएका हुन् ।
कार्यक्रममा उनले भनेका थिए, ‘चलचित्र क्षेत्रमा राजेश हमाल भन्दा ठुलो कोही पनि रहेनछ । मैले सधैँ महानायक भन्दा सुपरस्टार ठुलो भन्ने ठानेको थिएँ । त्यसैले उहाँलाई सुपरस्टार भनेको हुँ । तर म गलत रहेछु । आजबाट राजेश हमाललाई नै महानायक भन्नेछु । मेरो लागि अब सुपरस्टार भुवन केसी हुनुहुन्छ ।’ त्यसपछि उनले महानायक हमालसँग भेटेर माफी समेत मागे का थिए ।
महानायककाे पदवीमाथि प्रश्न उठाएका अभिनेता सलाेन बस्नेतले पनि माफी मागिसकेका छन् । हिजो आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले माफी मागेका हुन् । उनले लेखेका छन्, ‘माफ गरिदिनुस् नेपाली जनता । मैले सोच्न सकिनँ, सायद यही हडबडाहटमा बाेल्न पनि जानिन । शब्द छनोट गलत भयो मेरो तर मनबाट गलत सोचेको छैन । सबैसँग माफी माग्न चाहान्छु मेरो शब्दले असर पर्न गएकोमा । मैले आजसम्म जीवनमा सिनेमा बाहेक केही सोच्न वा गर्न सकेको छैन । मेरो सत्य यही हो मलाई गलत नबनाई दिनु ।’
निर्देशक शोभित बस्नेत र ले पनि ‘महानायक’ बिषयमा दिएको अभिव्यक्तिप्रति माफी मागेका थिए । उनले ‘महानायक’ पदवीमाथि प्रश्न उठाएपछि ठूलै विवाद जन्मिएको थियो । विवाद शोभितको फिल्म ‘डाँडाको वरपीपल’ बहिस्कार गर्नेसम्म चर्चिएपछि उनले ट्रेलर सार्वजनिक कार्यक्रममा अबदेखि राजेश हमाललाई ‘महानायक’ मान्ने बाचा नै गरे ।
महानायक विवाद झिकेपछि दर्शकले चलचित्र नै बहिस्कार गर्ने अभियानै चलाए । यसैबीच सलाेन र शाेभितले माफी मागिसकेका छन् । उनीहरूकाे माफीले भाेलि (असाेज २६) फुलपातीबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘डाँडाको वर पीपल’ ले दर्शक पाउला कि नपाउला ? त्यो भने हेर्न बाँकी छ । रिलिजकाे मुखमा महानायक विवाद झिकेपछि चलचित्रका निर्माता पनि चलचित्र डुब्ने हो कि भन्ने चिन्तामा छन् !
चलचित्र ‘डाँडाको वर पीपल’ मा सलाेन बस्नेत, शिव श्रेष्ठ, भुवन केसी, गाैरी मल्ल लगायतका कलाकारकाे मुख्य भूमिका रहेकाे छ । अस्मिता जुरेली, हिउँवाला गौतम, उतम केसी, संगम भण्डारी, सुशान्तकुमार श्रेष्ठ, प्रभात पल, अस्मी थापा, प्रदीप गिरी, ज्ञानकुमार कट्टेल लगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ । शोभित बस्नेतको निर्देशनमा तयार भएको फिल्ममा नवराज गिरीको लगानी, सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन, गोविन्द राइको नृत्य निर्देशन रहेकाे छ ।
चलचित्रकाे ‘रुन्छ नि मेरो मन’ गीत वैशाखमा नै सार्वजनिक भइसकेको छ । यस गीतले हालसम्म एक लाख ४५ हजार ९१६ भिउज पाएकाे छ ।यो चलचित्रलाई कोरोना भाइरसकाे पनि चुनौति छ । काेराेना संक्रमणका कारण वर्षाैँसम्म बन्द भएकाे हल भर्खरै खुलेकाे छ । काेराेना संक्रमणकाे डर र त्रासका बिच हलमा दर्शकको उपस्थिति कस्तो होला, त्यो पनि भोलि नै थाहा हुनेछ !




