दमक । दसैँमा धेरैजसो परिवारमा पारिवारिक पुनर्मिलनको सुखद क्षण बितिरहेको बेला दमक– ७ सयपत्री टोलकी ७९ वर्षीया मनमाया भुजेलको भने पीडा बल्झिने गर्छ ।
विगत १२ वर्षअघि विदेश जाने पैसाको अभावमा घरबाट विरक्तिएर हिँडेको २० वर्षीय कान्छो छोरो लालबहादुर आजसम्म पनि घर नफर्किँदा उनलाई यसपालीको दसैँले पनि खुशी दिन सकेन । दुई वर्षअघि जेठो छोरा लीलामणिको मृत्यु भयो । गत असारमा पति वीरबहादुरको निधन भयो । जेठी बुहारी बितेको धेरै वर्ष भइसक्यो । अहिले जेठो छोराकी छोरी मनमायाकी एक मात्र सहारा हुन् ।
पारिवारिक वियोगको यो दुर्दशामा परेकी मनमायालाई छोरो लालबहादुर भारततिर गएको भन्नेसम्म गाउँलेसे सुनाउँछन् । तर कुन ठाउँमा छन् र के कस्तो अवस्थामा छन् भन्ने कसैले सूचना दिनसकेका छैनन् । बुढेसकालको सहारा कान्छो छोरा लालबहादुर फर्किने आशामा बाटो हेर्दाहेर्दै मनमायाका आँखा दुखिरहेका छन् तर छोरा आएनन् ।
छोरा यतिका वर्ष घर नफर्किँदा मनमा सधैँ पीडा बोक्नु परेको उनी सुनाउँछिन् । उनी भन्छिन्, ‘यतिका वर्ष भइसक्यो, बेपत्ता भएको छोरोको अवस्था पत्तो लाग्न सकेको छैन् ।’ उनले बेपत्ता छोराको खोजीका लागि हारगुहार गरे पनि यतिका वर्ष बित्दासमेत अवस्था पत्ता लाग्न नसकेको गुनासो गरिन् ।
दसैँमा हराएको छोराको सधैँभरि सम्झना आउने वृद्धा मनमाया बताउँछिन् । दमक– ७ का वडाध्यक्ष भीमप्रसाद पौडेल मनमायाको समस्या र पीडालाई बुझेर नै आफूले सक्नेसम्मको सहयोग गर्दै आएपनि छोरोको बारेमा अत्तोपत्तो लाग्न नसकेको बताउँछिन् ।
भारततिर मजदूरी गर्न गएको भन्ने सुनिए पनि त्यसपछि नर्फिएको भुजेल परिवारका छिमेकी वडाध्यक्ष पौडेल भन्छन्, ‘लालबहादुरलाई जहाँ जे जस्तो अवस्थामा भेटे पनि घर फर्किने वातावरण बनाइदिन अपिल गरिआएका छौँ ।’ रासस




