काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पीसीआर र १ हजार ४०७ जनाको एन्टिजेन परीक्षण गर्दा साे संख्यामा संक्रमण पुष्टि भएकाे हाे ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ४७४ जना निको भएका छन् । पछिल्लाे अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १० हजार ७३८ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ । ७ लाख ९६ हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१९ जना रहेका छन् । जसमध्ये ७ हजार ५ जना होम आइसोलेसनमा रहेका छन् भने ५१७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८९ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१ जना कोरोना संक्रमित थपिएका छन् ।




