काठमाडाैं । सन् १९८५ नोभेम्बर ६ मा सञ्जीव कुमारले ४७ वर्षको उमेरमा संसार छाेडे । उनले आफ्नो उमेरको २५ वर्ष चलचित्र जगतलाई दिएका थिए । उनको २५ वर्षको यात्रा कुनै बलिउड सुपरहिट फिल्मभन्दा कम थिएन ।
यसमा दर्शकलाई चकित पार्ने प्रदर्शनको दायरा होस्, बक्स अफिस ब्लकबस्टर होस् वा सुन्दर प्रेमिकाको साथ होस्, सञ्जीव कुमार कुनै सुपरस्टारभन्दा कम थिएनन् । सधैँ भीड र साथीभाइले घेरिने सञ्जीव कुमारले जीवनको अन्तिम क्षणहरूमा चरम एक्लोपन झेले । आफ्नो रोगसँग एक्लै संघर्ष गरे ।
यो पनि भन्न सकिन्छ कि जीवनको यात्रामा पनि कलाकारको हैसियतमा सञ्जीव कुमार सधैँ परीक्षा दिँदै आएका थिए । सानै उमेरमा बुबाको निधन, त्यसपछि आमाले परिवार चलाउनका लागि गरेकाे संघर्ष, रंगमञ्चप्रतिको आफ्नो लगाव, पारिवारिक जिम्मेवारी र फिल्ममा काम पाउनको लागि संघर्ष । सञ्जीव कुमारले सधैँ संघर्ष गरिरहे । संघर्षका बावजुद उनको अनुहारमा मुस्कान सधैँ कायम रह्यो । उनको अभिनय शैलीमा यो आकर्षक मुस्कानको महत्त्वपूर्ण योगदान थियो ।
बी ग्रेड फिल्मबाट सुरु गरेका उनले अभिनयकै कारण त्यो स्टारडम हाँसिल गरे जसका कारण उनले मल्टिस्टार फिल्ममा समेत सबैभन्दा बढी पारिश्रमिक लिन थाले । सञ्जीव कुमारले याे सफलता एक झड्कामा पाएका हाेइनन् । पाइला पाइलामा गरेकाे संघर्षले यो उपलब्धि हाँसिल गरेका हुन् । यसमा बाल्यकालमा गरेकाे अभिनय तालिमकाे ठुलाे याेगदान रह्याे ।
यो तालिम लिनका लागि सञ्जीव कुमारकी आमाले आफ्ना गहना धितो राखेकि थिइन् । उनकी आमा चाहन्थिन्, छोरा डाक्टर वा वकिल बनोस् । तर अभिनयमा सञ्जीव कुमारको लगाव देखेर उनले यो निर्णय लिइन् ।
सञ्जीव कुमारको संघर्षको रोचक कथामा उनको नामको कथा पनि समावेश छ । वास्तवमा हिन्दी फिल्ममा काम गर्नुअघि उनले हरिहर जेठालालको नामबाट थिएटरको दुनियाँमा काम गर्न थाले । इप्टा नाटकहरूमा काम गर्दा, एके हंगलले लोकप्रिय नाटक डमरूमा सञ्जीव कुमारलाई एक ६० वर्षीय वृद्धको भूमिका दिए । १९ वर्षको उमेरमा सञ्जीव कुमारले यो पात्र निभाएका थिए ।
सञ्जीव कुमारले १९६० को फिल्म ‘हम हिन्दुस्तानी’ मा पहिलाे अवसर पाएका थिए । उनकाे करियरको दोस्रो हिन्दी फिल्म ‘आओ प्यार करेँ’ सन् १९६४ मा रिलिज भएको थियो । सन् १९६४ मा फिल्म दोस्ती सुपरहिट भयो र उनी चर्चामा आए । उनी १९६५ को फिल्म निशानमा देखा परेका थिए, जुन एक प्रकारको स्टन्ट फिल्म थियो । सुरुका दिनमा यस्ता चलचित्र गरेर उनले नाफा कम र घाटा बढी पाए ।
सन् १९६८ को फिल्म संघर्षमा सञ्जीव कुमारले दिलीप कुमारको अगाडि अभिनय गरेर चर्चा कमाए, जुन उनको मृत्युको समयसम्म अर्थात् अर्को १७ वर्षसम्म जारी रह्यो । यस अवधिमा सञ्जीव कुमारले बक्स अफिसमा सफल फिल्म दिए । सन् १९७० मा रिलिज भएको ‘खिलाैना’ मा मानसिक रोगको सामना गर्ने पात्रकाे भूमिका निभाए जसले उनलाई प्रसिद्धि र सफलताको आकाशमा पुर्यायाे ।
अभिनेताको रूपमा, सञ्जीव कुमारले आफूलाई कहिल्यै दोहोर्याएनन्, न त कुनै छविले प्रभावित भए । उनलाई अल सिजन एक्टर समेत भन्न थालिएकाे थियाे । एकातिर उनले शोले र त्रिशूल जस्ता मल्टिस्टार फिल्ममा आफ्नो अभिनयले जनताको मन जित्ने क्रम जारी राखे भने अर्कोतिर प्रयोगात्मक फिल्ममार्फत पनि मानिसलाई चकित पाे ।
सन् १९७४ मा ‘नया दिन, नई रात’ मा उनले नौ प्रकारका पात्रहरू खेलेर मानिसहरूलाई चकित पारेका थिए । सन् १९७८ मा उनले पति, पत्नी और वो नामक सुपरहिट फिल्म दिए भने सन् १९८२ मा अंगुर जस्ता बेजोड कमेडी फिल्म दिए । सन् १९६० देखि १९८५ सम्म सञ्जीव कुमारले १५३ फिल्ममा अभिनय गरेका थिए । दस्तक र प्रयासका लागि राष्ट्रिय पुरस्कार जितेको थियो । बी ग्रेड फिल्ममा काम गरेर यहाँसम्म पुग्न सजिलो छैन तर सञ्जीव कुमारले यो स्थान हाँसिल गरेका छन् ।
प्रेममा असफलतादेखि रक्सीको लतसम्म
अभिनय यात्रामा सञ्जीव कुमारको विवाहित नुतन र हेमा मालिनीसँग अफेयरकाे चर्चा चल्याे तर प्रेम सफल हुन सकेन । त्यसपछि सुलक्षणा पण्डित लगायत अन्य केही अभिनेत्रीसँग उनको सम्बन्धको चर्चा पनि भयाे । तर सञ्जीव कुमारले बिहे गरेनन् । प्रेम सम्बन्धमा पाएकाे असफलता र एक्लोपन हटाउन सञ्जीव कुमारले आफूलाई रक्सीकाे कुलतमा डुबाए ।
सञ्जीव कुमार सानैदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिए र मदिराको नशाले उनको रोग झनै बढाएको थियो । ३७ वर्षको उमेरमा उनको करियरको उज्ज्वल चरणमा पहिलो पटक हृदयघात भएको थियो । तर उनले आफ्नो जीवनशैलीमा कुनै परिवर्तन भने गरेनन् ।
दाेस्राे पटक पनि हृदयघात भएपछि यसपछि सञ्जीव कुमारले अमेरिका गएर आफ्नो ओपन हार्ट सर्जरी गराए । उनी अमेरिकाबाट फर्किएपछि पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको थियो, तर चलचित्रकर्मीहरूले काममा फर्कन गरेकाे आग्रह र बाँकी रहेका कामहरू पूरा गर्ने उनको आफ्नै जिद्दले उनलाई आराम दिन सकेन ।
सन् १९८५ नोभेम्बर ६ मा सञ्जीव कुमारको मृत्यु भएपछि उनका साथी र सहकलाकार दिनेश हिङ्गुले हनिफ जावेरीलाई भनेका थिए, ‘विवाह गरेको भए उनी धेरै वर्ष बाँच्ने थिए । उनी आराम गर्न जान्दैन थिए । मुटुकाे अप्रेशनपछि पनि उनले काम गरिरहे । उनको मृत्युकाे जिम्मेदार चलचित्र निर्माताहरू हुन् ।’
सञ्जीव कुमार प्रायः सुटिङका लागि सेटमा ढिलो पुग्थे । यसको एउटै कारण थियो कि उनी बिहानसम्म रक्सी पिउने गर्थे । उनको ढिलाइको बावजुद पनि निर्देशक र सह-कलाकारहरू उनीसँग कहिल्यै रिसाएनन्, किनकि सञ्जीव कुमारले केवल एक टेकमा आफ्नो शर्टहरू पुरा गर्थे ।
आमाको पुण्यतिथिमा छाडे संसार
हरेक वर्ष नोभेम्बर ६ मा सञ्जीव कुमार आफ्नी आमाको सम्झनामा डुब्थे । नोभेम्बर ६, १९८० मा उनकी आमाको मृत्यु भएकाे थियाे । आमाको मृत्युपछि उनी केवल पाँच मात्रै बाँचे, रोगको सामना गर्दै । सञ्जीव कुमारको यो अवधिमा मदिराको लत, कन्जुस र महिला साथीलाई विश्वास नगर्ने लगायतका विषयमा धेरै चर्चा भएको थियो । कन्जुसीकाे चर्चा हुनुकाे एउटा कारण यो पनि हुनुपर्छ कि सञ्जीव कुमार एकदमै साधारण लुगा लगाउने गर्थे र कपडामा धेरै खर्च गर्दैन थिए ।
तर, उनका नजिकका साथीहरूले उनलाई यो कुराको महसुस गराए कि कोही पनि उनीसँग नजिक हुन्थ्यो भने त्यो कारण उनको पैसा थियो । सञ्जीव कुमारले यो कुरामा अलिकति विश्वास गरेका थिए, त्यसैले आफ्नो जीवनको अन्तिम वर्षहरूमा उनी अरूसँग चाँडो खुल्दैन थिए । यद्यपी सञ्जीव कुमारसँग काम गर्ने धेरै अभिनेत्रीहरूले सञ्जीव कुमारलाई आफ्नो सबैभन्दा मिल्ने साथीको रूपमा वर्णन गरेकाे पनि पाइएकाे छ ।
शत्रुघ्न सिन्हा र अमिताभको विवाह बचाउने व्यक्ति
सञ्जीव कुमारले आफ्नो परिवार बसाएनन् तर परिवारको महत्वबारे उनलाई पूर्ण रूपमा थाहा थियो । त्यसैले उनले आफ्नो परिवारका सदस्यहरूलाई मात्र सहयोग गरेनन्, अरूको भत्किएका घरहरू पनि बचाए ।
जब शत्रुघ्न सिन्हाको श्रीमती पूनम सिन्हासँगको तनाव निकै बढेको थियो, त्यसलाई सुल्झाउनमा सञ्जीव कुमारको भूमिका थियो, जसको उल्लेख शत्रुघ्न सिन्हाले पनि गर्दै आएका छन् । यही कारणले गर्दा शत्रुघ्न सिन्हा जीवनभर उनका सबैभन्दा मिल्ने साथी बने । जब सञ्जीव कुमारको मृत्यु भयो, शत्रुघ्न सिन्हा ४८ घण्टासम्म उनको शवको छेउमा बसे ।
सञ्जीव कुमारकी बहिनी अमेरिकाबाट आएपछि मात्रै उनको अन्तिम संस्कार गरिएको थियो । उनको मृत्युको खबरपछि मुम्बईको फिल्म उद्योगमा भोलिपल्ट कुनै पनि काम भएन । सबै छायांकन रद्द गरियाे ।




