सर्लाही । ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले बागमती नगरपालिकाको धरहराबाट नगद सहित १२ जना जुवाडे पक्राउ गरेको छ । मंगलबार राती साँढे ११ बजे बागमती नगरपालिका-३ धरहरा स्थित ढलक बहादुर तामाङको घरमा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरी नेतृत्वको टोलीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले ४ लाख ८४ हजार ५० रूपैंया, कौडा समेत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीका अनुसार पक्राउ पर्नेमा बागमती नगरपालिका-३ निवासी ३९ वर्षीय गौरिशंकर साह, ३४ वर्षीय संचर घिसिङ र ३४ वर्षीय जित बहादुर बम्जन, बसवरिया गाउँपालिका ५ निवासी ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह रहेका छन् ।
त्यस्तै हरिवन नगरपालिका १० निवासी ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकास अधिकारी र ५७ वर्षीय अर्जुन केसी, बरहथवा नगरपालिका ५ निवासी २८ वर्षीय जुनैन अंसारी र बरहथवा १० निवासी २९ वर्षीय रामबिर चौधरी, रौटहट चन्द्रनगर नगरपालिका १ निवासी ५१ वर्षीय दिल बहादुर लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
ढोकामा बाहिरबाट ताल्चा लगाएर कोठाभित्र जुवा खेलाउने गरिएको थियो । प्रहरी टोलीले पहिला जुवा खेलाउने घरबेटी ढलकबहादुरलाई नियन्त्रणमा लिई ढोकाको चाबी लिएर भित्र जुवा खेलिरहेका ११ जनालाई नियन्त्रणमा लिएको स्थानीयले बताए । त्यहाँ बाह्रैमास जुवा खेलाईने गरेको स्थानीय बताउँछन् । पक्राउ परेकाहरुलाई जुवातास नियन्त्रण ऐन अन्तर्गत कारवाही प्रकृया अगाडि बढाईएको सर्लाही प्रहरीले जनाएको छ ।






