सर्लाही । सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् ।
भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु जिल्ला सदरमुकाम मलङ्गवासहित हरिपुर, बरथवा, वयलवास, हरिवन र लालबन्दी लगायतका बजारका साथै गाउँ गाउँमा समेत विक्री वितरण भइरहेको पाईएको छ ।
विषादी हालेर पकाइको आँपका कारण स्वास्थ्यमा जोखिम बढेको लालबन्दी नगरपालिका–७ का सुनील साहले बताउनुभयो । उहाँका अनुसार विषादी हालेर पकाइएको आँप खाँदा बिरामी हुने डर हुन्छ ।
यसरी विभिन्न विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका प्रमुख डा. शुदिप प्रसाद काफ्लेले बताउनुभयो ।
कार्बाइड प्रयोग गरिएको आँप खाँदा छालाको रोग, पेट दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या हुने भएकाले यस्तो आँप नखान डा. काफ्लेले सुझाव दिनुभयो ।




