काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच सामाजिक सञ्जालमा ‘जुहारी’ चलिरहेको छ । सोही विषयमा विभिन्न क्षेत्रका व्यक्तिहरूले टिका टिप्पणी पनि दिइरहेका छन् ।
यसबीच अभिनेता तथा फिल्मकर्मी दीपकराज गिरीले पनि आफ्नो तर्क प्रस्तुत गरेका छन् । उनले लठ्ठी टेक्ने कुरा भएकाले जुधाएरै भाँचेमा के टेक्ने हो ? भन्दै कटाक्ष गरेका छन् । केही समयअघि काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर साम्पाङ काठमाडौं आएपछि थुप्रिएको फोहोरको विषयलाई लिएर प्रश्न उठाएका थिए ।
गत आइतबारबाट फोहोर उठ्न थालेपछि साम्पाङले आफू काठमाडौं आएकाले फोहोर उठेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । उक्त विषयमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भने आफूले चुनाव पनि धरान उपमहानगरपालिकाका मेयर साम्पाङकै ‘लौरो’ पाएकाले जितेको भन्दै प्रतिक्रिया दिएका थिए ।
सो घटनापछि धरान उपमहानगरपालिकाका मेयर साम्पाङले निरन्तर सामाजिक सञ्जालबाट काठमाडौं महानगरपालिकाका मेयर शाहमाथि टिप्पणी गरिरहेका छन् । दुई स्वतन्त्र मेयरबीच चलिरहेको जुहारीमा अभिनेता गिरीले टिप्प्णी गरेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लठ्ठी टेक्ने हो । आपत पर्दा बजाउने पनि हो । लठ्ठी जुधाएरै भाँच्यौ भने के टेक्छौ के बजाउँछौ ?’




