काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि १० अर्ब रुपैयाँ बराबरको सुकिला (नयाँ नोट) को व्यवस्था गरेको छ । केन्द्रीय बैंकले भदौ २६ गतेदेखि बजार पठाउने गरी उक्त परिणामको नयाँ नोटको व्यवस्था गरेको हो ।
यद्यपि, भदौ २६ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई सुकिला नोट उपलब्ध गराइने तयारी भएपनि औपचारिक निर्णय भने भइसकेको छैन ।
गत वर्ष बैंकले ८ अर्ब रुपैयाँ बराबरको सुकिला नोट बजारमा पठाएको थियो । प्रति व्यक्ति नोट सटहीको अधिकतम १८ हजार ५०० रुपैयाँ सीमा तोकेर सुकिला नोट वितरण गरेको बैंकले यस वर्ष भने सीमा नलगाउने बताएको छ ।
गत वर्षहरुमा जस्तै यस वर्ष पनि बैंकले रु. ५, रु. १०, रु. २०, रु. ५० र रु. १०० गरी पाँच वटा खुजुरा सुकिला नोटहरु बजार पठाउने तयारी गरेको छ । नयाँ नोट पाएपछि बैंक तथा वित्तीय संस्थाहरुले आफु अनुकुल सर्वसाधारणलाई वितरण गर्न सक्नेछन् ।




