सर्लाही । सर्लाहीका सडकमा सवारी दुर्घटना बढ्न थालेको छ । चालु आर्थिक वर्षको पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २९ जनाको ज्यान गएको छ । जिल्लामा दैनिक चार वटासम्म दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा तीन सय ९७ वटा दुर्घटना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी निरिक्षक इश्वर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ती दुर्घटनामा परेका मध्ये एक सय २५ जना गम्भीर घाइते भएका छन् भने पाँच सय २६ जना सामान्य घाइते भएका छन् ।
३० किलोमिटर पूर्व–पश्चिम लोकमार्ग तथा हजारौँ किलोमिटर पक्की र कच्ची भित्री सडक खण्ड रहेको जिल्लामा दैनिक हुने सवारी दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।
गत तीन आर्थिक वर्षमा जिल्लामा दुर्घटना र त्यसमा परेर ज्यान गुमाउनेको संख्या लगातार बढ्दै गएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ । यस अवधिमा एक सय ९१ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष ०७६/०७७ मा जिल्लाका विभिन्न स्थानमा एक सय ८४ वटा सवारी दुर्घटना भएकोमा ५० जनाको ज्यान गएको थियो । त्यस्तै आर्थिक वर्ष ०७७/७८ मा ६ सयवटा सवारी दुर्घटना भएकोमा ६२ जना र ०७८/७९ मा आठ सय ४६ वटा सवारी दुर्घटना हुँदा ७९ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांकमा उल्लेख छ ।
जिल्लामा सडक र सवारी दिन प्रतिदिन असुरक्षित बन्दै गएको रौतहट सर्लाही यातायात प्रा.लि.का अध्यक्ष राजकुमार मैनालीले बताउनु भयो । उहाँका अनुसार बिहान घरबाट निस्किएको व्यक्ति सकुशल घर नफर्किने हो कि होइन भन्ने चिन्ता बढ्न थालेको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकाय बढी जिम्मेवार बन्नुपर्ने नागरिक अगुवा शिवचन्द्र चौधरीले बताउनु भयो । साँघुरो सडक, सडकको दुरावस्था, लापर्वाहीपूर्ण यातायात सञ्चालन र सवारी साधनहरुको चापका कारण सवारी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रवक्ता प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले बताउनु भयो ।
उहाँका अनुसार सडकमा हुनुपर्ने सचेतना र सूचना पाटी, सडक लाइनिङ समेत नदेखिने अवस्थामा नरहेकाले दुर्घटना बढेको हो । यता, दुर्घटना न्यूनीकरणका सम्पूर्ण उपाय अवलम्बन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक कार्कीले बताउनु भयो ।
उहाँका अनुसार दुर्घटना न्युनिकरण गर्न सडकमै सचेतना कार्यक्रम चलाउनेदेखि विद्यालयमा ट्राफिक नीयमसम्बन्धी कक्षा लिने गरिएको छ । दुर्घटना नियन्त्रण गर्न नियमित र आकस्मिक सवारी चेकजाँचसँगै ट्राफिक नीयम विपरित सञ्चासलित सवारी साधनहरु र तीनका चालकहरुलाई नीयमानुसार दण्ड–जरिवाना समेत गर्ने गरिएको प्रहरी निरिक्षक कार्कीले बताउनु भयो ।
ट्राफिक प्रहरीले चालू आर्थिक वर्षको पाँच महिनामा जिल्लामा १२ हजार ५० वटा सवारी साधनलाई कारबाही गरेको छ । यसबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।




