बीबीसी । तपाईँको खल्तीमा रहेको, घरमा राखिएको वा ब्याङ्कमा जम्मा गरिएको नोट वा सिक्का छाप्न कति खर्च लाग्छ थाहा छ ? हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ ।
नेपाल राष्ट्र ब्याङ्कले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई रुपैयाँसम्म खर्च गर्ने गरेको छ ।
पोल्यान्डमा छापिने रु १ को सिक्का छपाइका लागि मात्रै राष्ट्र ब्याङ्कले प्रतिसिक्का रु २.४० खर्च गर्नुपर्छ । त्यसका अतिरिक्त ढुवानीका लागि पनि थप खर्च लाग्ने र यस्तो खर्च समय अनुसार फरक पर्ने केन्द्रीय बैंकका अधिकारीहरू बताउँछन् ।
पोल्यान्डको मेनिका पोलेस्काले छापिएका एक रुपैयाँ दरका सिक्का पर्साको सिर्सिया सुख्खा बन्दरगाहसम्म पुर्याउने गरेको छ । राष्ट्र बैंकका अनुसार सबैभन्दा कम खर्चमा १० रुपैयाँको नोट छापिन्छ । सबैभन्दा बढी खर्च रु ५०० को नोट छाप्न लाग्दै आएको छ ।
सिक्काको मोलभन्दा महँगो छपाइ
राष्ट्र बैंकका अनुसार अहिले रु १ र रु २ का नोट छापिँदैनन् र सिक्काहरू मात्रै छापिँदै आएका छन् । स्टिल र पित्तल धातुबाट बन्ने दुवै दरका सिक्काको वास्तविक मूल्यभन्दा छपाइ खर्च महँगो छ ।
बाहिर पित्तलको लेप लगाइएको भए पनि एक र दुई रुपैयाँ दरका सिक्का स्टिलबाट बनेका हुन्छन् । दुई रुपैयाँको सिक्का छाप्न प्रतिसिक्का रु २.७३ लाग्ने गरेको छ ।
महँगोमा सिक्का छपाइका कारण मात्रै राष्ट्र बैंकलाई हरेक वर्ष १० करोड घाटा हुने गरेको अधिकारीहरू बताउँछन् । राष्ट्र बैंकले पछिल्लो समय एक रुपैयाँ दरका ३० करोड र दुई रुपैयाँ दरका १० करोड सिक्का छापेर राखेको छ ।
नोट छाप्न कति खर्च ?
राष्ट्र ब्याङ्कका अनुसार पाँच रुपैयाँको नोट छाप्न रु १.६८, १० रुपैयाँको छाप्न रु १.४० र २० रुपैयाँको छाप्न रु १.७३ खर्च लाग्ने गरेको छ । पचास रुपैयाँको एउटा नोट छाप्न रु २.६७ पैसा र १०० को नोट छाप्न रु २.९९ खर्च लाग्छ ।
पछिल्लो पटक राष्ट्र बैंकलाई रु १,००० भन्दा ५०० दरका नोटको छपाइ महँगो परेको छ । रु १,००० को नोट छाप्न रु ३.३७ र ५०० रुपैयाँको एउटा नोट छाप्न रु ४.६८ लागत छ ।
राष्ट्र बैंकले जति पनि नोट छाप्न पाउँछ ?
राष्ट्र बैंकले चाहे जति नोट छाप्न भने पाउँदैन । नोट छाप्नुअघि राष्ट्र बैंकले कति नोट वा मुद्रा आवश्यक पर्छ भनेर अध्ययन गर्ने गरेको छ । अध्ययनका आधारमा राष्ट्र बैंक सञ्चालक समितिले तीन वर्षका लागि आवश्यक नोट छाप्ने अनुमति दिने गरेको छ । पछिल्लो समय तीन वर्षअघि राष्ट्र बैंकले दुई अर्ब ४१ करोड थान नोट छाप्ने अनुमति पाएको थियो ।
नोट चलाउन धितो
राष्ट्र बैंकले प्रकाशन गरेर ल्याएका नोट बजारमा चलाउनु अघि राजपत्रमा सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था छ । तर नोट चलाउनुअघि बैंकले नोटको मूल्याङ्कन बराबरको धरौटी राख्नुपर्ने व्यवस्था छ ।
धितो के राखिन्छ ?
राष्ट्र बैंक ऐनले सुरक्षण राखेर मात्रै नोट निष्कासन गर्न सक्ने अधिकार केन्द्रीय बैंकलाई दिएको छ । यस्तो धरौटीमा सुनचाँदी विदेशी मुद्रा विदेशी धितोपत्र लगायत राख्न सकिने व्यवस्था छ । साथै सिक्का र नेपाल सरकारको ऋणपत्रलाई पनि धरौटीको रूपमा राखिन्छ ।
सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम पचास प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमय अधिकार पत्र र अरू बाँकी सिक्का, नेपाल सरकारले निष्कासन गरेको ऋणपत्र र प्रतिज्ञा पत्र वा विनिमय पत्र राख्न सकिने कानुनी व्यवस्था छ ।
छापिएका नोट कसरी जाँच गरिन्छ ?
राष्ट्र बैंकले छापिएका नोट वा सिक्काहरूको जाँच गरेर मात्रै बजारमा पठाउने गरेको छ । दैविक छनौट प्रक्रियाको आधारमा विभागले पाँच प्रतिशत नोट वा सिक्काहरूमा छपाइ त्रुटिको जाँच गरेपछि मात्र चलनचल्तीमा पठाइने राष्ट्र बैंकको नोट तथा सिक्का टकमरी निर्देशिकामा उल्लेख छ ।
मुद्रा छापिसकेपछि ब्याङ्कका अधिकारीहरू सम्बन्धित देशको छापाखाना पुगेर आफ्नै उपस्थितिमा छपाइका लागि प्रयोग भएका प्लेटहरू नष्ट गर्नुपर्ने निर्देशिकामा व्यवस्था छ ।
राष्ट्र बैंकका अनुसार नोटहरू दुईदेखि तीन वर्षसम्म र सिक्काहरू पाँचदेखि छ वर्षसम्म प्रयोगमा रहने गरेका छन् । पुराना भएका नोट वा सिक्कालाई राष्ट्र बैंकले सुरक्षित तरिकाले नष्ट गर्ने गरेको छ । पछिल्लो समय पुराना नोटहरू धुल्याएर ब्रिकेट बनाउने गरेको छ ।




