काठमाडौं । उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष हुन् । जसपा अहिलेको सत्ता गठबन्धनको एक प्रमुख साझेदार पनि हो । तर, सत्ता गठबन्धन कायम रहेकै अवस्थामा एकाएक त्यहींभित्रका तीन दल माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी तथा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा घोषणा भएको छ । धेरैको आकलन छ, यो सत्तामा ‘बार्गेनिङ पावर’ बढाउने रणनीति हो । के त्यस्तै हो त ? अध्यक्ष यादवसँग यिनै विषयमा केन्द्रित रहेर नेपाली हेडलाइनले गरेको संवाद :
एकाएक समाजवादी मोर्चा घोषणा गर्नुभयो, यो मोर्चाको लक्ष्य के हो ?
समाजवादी मोर्चा घोषणा एकाएक गरेको होइन । यो झण्डै ८-९ महिनादेखिको प्रयास हो । चुनावभन्दा अघिदेखि नै घोषणा गर्ने तयारीमा हामी थियौं । र, चुनावमा अलि बढी व्यस्तताका कारणले त्यो समयमा घोषणा गर्न सकिएको थिएन । त्यसपछि ढिलो घोषणा गरेका हौं, एकाएकचाहीं होइन ।
भविष्यमा चारवटा दलको एकता गरी एउटै पार्टी बनाउने लक्ष्य हो ?
होइन । एउटै पार्टी बनाउने होइन । पार्टी सबै अलग-अलग रहन्छन् । हामीसँग मिल्न चाहने अरू दलहरू पनि मोर्चामा आउन सक्छन् । यो समाजवादी मोर्चा मात्र हो । यो मोर्चा न त एमालेप्रति लक्षित छ, न कांग्रेसप्रति नै । सत्ता हाम्रो लक्ष्य पनि होइन । हाम्रो लक्ष्य परिवर्तन हो ।
मधेश विद्रोह, सशस्त्र आन्दोलन र जनआन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफलता पाएका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रको मुल लक्ष्यलाई संस्थागत गर्ने हाम्रो उद्देश्य हो । मधेशी, आदिवासी जनजाति, पिछडिएको वर्ग, मुस्लिम, थारू लगायत सिमान्तकृत समुदायको अधिकारलाई सुनिश्चित गर्दै समानता, सामाजिक न्यायको प्रत्याभूति गराउँदै मुलुकलाई संघीय समाजवादी गणतन्त्र नेपाल बनाउने हाम्रो मुल लक्ष्य हो ।
अहिलेसम्मको स-साना दलको ‘स्ट्रेन्थ’लाई बढाएर ठूलो आकारमा सत्तामा ‘बार्गेनिङ’ गर्ने उद्देश्यले यो मोर्चा निर्माण भएको बाहिरी बुझाइ देखिन्छ नि । के साँच्चै त्यस्तै हो ?
सत्ता भनेको सेकेन्डेरी कुरा मात्र हो । सत्ता भनेको साधन हो, साध्य होइन । साध्यलाई लक्ष्य ठान्नु हुँदैन । सत्ता आत्मघाती कुरा हो । सत्ता बाटोमा भेटिने कुरा मात्र हो । लक्ष्य के हो भने परिवर्तनलाई संस्थागत गर्ने, संघीयता, गणतन्त्र, समावेशिताजस्ता मुलभूत अधिकारहरूलाई संस्थागत गर्दै, प्रदेशहरूलाई सक्रिय बनाउँदै मुलुकको विकास र समृद्धिको बाटोबाट, सामाजिक न्यायको बाटोबाट अगाडि बढ्दै त्यसको लागि ग्राउन्ड तयार गर्ने हो ।
यो मोर्चाको आयु कति महिनाको हो ?
त्यो त ज्योतिषलाई थाहा होला । हामीले त सकुन्जेल चलाउँछौं ।
जसपाले अझ पार्टी अध्यक्षका रूपमा तपाईंले नै डा. बाबुराम भट्टराईको पार्टीलाई यो मोर्चामा आउन रोक्नुभयो भन्ने गाइँगुइँ छ नि । कुरा त्यस्तै हो ?
डा. बाबुराम भट्टराई यो मोर्चा निर्माणमा कहिल्यै संलग्न हुनु हुन्थेन । हामीले उहाँलाई रोकेका पनि होइनौं, छैनौं ।
मोर्चा झण्डै ५ वर्षपछि हुने चुनावसम्मलाई लक्षित गरेर निर्माण गरिएको आकलन पनि छ नि ?
माथि नै भनिसकें, मुलुकलाई संघीय समाजवादी गणतन्त्र नेपाल बनाउने यो मोर्चाको लक्ष्य हो । यसमा कोही आउलान्, कोही जालान्, हुन सक्छ बीचमा गएर दुर्घटना पनि होला । तर, फेरि नयाँ रूपमा अगाडि बढ्ला । तथापि, एउटा लक्ष्य बोकेको संस्था त जन्मियो नि । श्रीमान् र श्रीमतीको सम्बन्ध त बिग्रन्छ । विवाहमै लाखौं, करोडौं खर्च गरिएका सम्बन्ध त दुर्घटनामा पर्छन् । त्यस्तो घटना हुँदै हुँदैन भन्न सकिँदैन । तर, हामीले गर्ने अधिकतम प्रयास हो । त्यसैले हाम्रो सोच सार्थक हुन्छ ।
प्रसंग बदलौं । अहिलेको सत्ता गठबन्धन आजै ढल्छ, भोलि नै ढल्छ, टिक्दैन भन्ने गरिएको छ नि ? के कुरा त्यस्तै हो ?
गठबन्धन रहुन्जेल यो सरकार टिक्छ (हाँसो …)। तर, त्यति चाँडै भत्किहाल्ला भन्नेजस्तो छैन ।
तर, कांग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने आकलन पनि छ नि बजारमा त ?
राजनीतिका दुई मुख्य प्रतिस्पर्धी दल यदि सँगै सत्तामा गएमा दुवैको दुर्दशा हुन्छ । नेपाली कांग्रेस एमालेसँग मिलेमा कांग्रेसको दुर्दशा हुन्छ । अनि प्रतिपक्षको लाभ एमालेले पनि पाउँदैन । कांग्रेस र एमालेले त्यो गल्ति नदोहोर्याउन् भन्छु म । मोर्चा र एमालेबीच गठबन्धन भएर नयाँ सत्ता गठबन्धन बन्न असम्भव छैन । तर, अहिले तत्काल एमाले र मोर्चाबीच गठबन्धन हुँदैन । अहिलेकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा हामी छौं ।
तपाईंको पार्टीभित्रको कुरा गरौं । यतिबेला आएर जसपाको विधान महाधिवेशन गर्नुपर्ने के बाध्यता आइलाग्यो ?
यो पार्टीको विधान महाधिवेशन हो । अर्थात्, पार्टीको विधान निर्माण गर्न महाधिवेशन गर्न लागेका हौं । अन्य दलको अभ्यास हेर्दा केही सीमित नेताले दलको विधान लेख्ने गरेका छन् । हाम्रो कुरा फरक छ । हामी पार्टी कार्यकर्ताबाट विधान निर्माण गर्ने अभ्यासमा छौं ।
त्यसैले, यो हाम्रो पार्टीको एक किसिमको विधान सभाजस्तै हो । पार्टीको संविधान सभाजस्तै हो । कार्यकर्ता नै हाम्रो पार्टीका आधार हुन् । त्यसलाई संस्थागत गर्न हाम्रो पार्टीमा सार्वभौम अंग भनेको पार्टीका कार्यकर्ता हुन् । उनीहरूले बनाएको विधानका आधारमा पार्टी सञ्चालन हुन्छ ।
पहाडमा जस्तै मधेशमा पनि नयाँ शक्तिहरू उदाएका छन् । मधेशको मुख्य शक्तिका रूपमा जसपाले ती नयाँ शक्तिहरूलाई रोक्न कस्तो रणनीति बनाएको छ ?
नयाँ शक्तिहरू अगाडि आउनुपर्छ । उनीहरूलाई रोक्ने हाम्रो कुनै रणनीति छैन । नयाँ-नयाँ पार्टी र नेताहरू आएर राम्रो काम गरेर अगाडि बढून् । नयाँ आए भन्दैमा पुरानोले डराउनु पर्दैन । नयाँसँग प्रतिस्पर्धा गरेर अगाडि बढ्न तयार छौं । नयाँलाई हामीले किन डिस्टर्ब गर्ने, अगाडि आऊन् न । नयाँले अवसर पाउनु हुँदैन भन्ने त छैन । हाम्रो शक्ति पनि नयाँ नै हो । हामीले ल्याएको समाजवादी विचारधारा आज स्थापित हुँदै गएको छ । यो विचार सर्वत्र नयाँ हो । कुनै जमनामा बीपी कोइरालाले उठाउनुभएको थियो । तर, त्यस समयमा बाटैमा हराएको थियो । तर, हामी नयाँ ढंगले नेपाली विशेषताका आधारमा समाजवादलाई निमार्ण गर्दैछौं ।
त्यस्तो समाजवाद, जहाँ जातीय भेदभाव अन्त्य हुनुपर्छ । मधेश र पहाडबीचको जुन विविधता छ, त्यस्तो सांस्कृतिक र जातीय विविधतालाई सम्बोधन गर्दै विभेद र असमानतालाई अन्त्य गर्नुपर्छ । अनि मात्र समाजवादको कुरा अगाडि बढ्न सक्छ । नत्र भने अहिले नेपालको समाजवाद भनेको ब्राह्मणवाद र पाखण्डवादबाट तल जानै सकेन । जनजातिले, दलितले, मधेशीले र विपन्न वर्गले समानता के हो भन्ने कुरा अहिलेसम्म अनुभूति नै गर्न पाएका छैनन् । समानता र सामाजिक न्यायविना समाजवाद निर्माण हुन सक्दैन । र, यसैका आधारमा संसारभरिका कम्युनिस्टहरू फेल भएका छन् । समानताको नारा दिएर तानाशाही भए तर सामाजिक न्याय भएन । हाम्रो अनुभव समानता भनेको स्वतन्त्रता हो । स्वतन्त्रता, समानता र सामाजिक न्याय जब सबै जनताले पाउँछन्, अनि मात्र समाजवादको यात्राको शुरुवात हुन्छ ।
अर्को- कम्युनिस्टहरूको समाजवाद वास्तवमा समाजवाद नै होइन, तानाशाही राष्ट्रिय समाजवाद हो । राज्यलाई बलियो बनाएपछि पेलेर समाजवाद ल्याइन्छ भन्ने सपना कम्युनिस्टहरूको धेरै देशमा देखियो, जुन असफल भएर गयो । कोही-कोही यस पाटोमा सचेत भए र तिनीहरूले जोगाएर राखेका छन् । तर, लोकतन्त्रविनाको समानताको अर्थ हुँदैन र समानताविना न्याय हुँदैन । न्याय र समानता नभएको मुलुकमा के को समाजवाद ? त्यसकारण हाम्रो आफ्नो धारणाका साथ हामी अगाडि बढिरहेका छौं, बढिरहने छौं ।






