काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफ्नो एक वर्षे प्रगति विवरण सुनाउन पत्रकार सम्मेलनको आयोजना गरे, प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा ।
पत्रकारहरु पाँचौं तलाको हलमा खचाखच थिए । २ बजे शुरु हुने भनिएको प्रेस मिट झण्डै आधा घण्टा ढिलो गरी २ बजेर ३० मिनेट जाँदा शुरु भयो । कुलमानले आगामी २ वर्षभित्र नेपाल पूर्णरुपमा विद्युतीकरण हुने बताइरहेका थिए ।
कुलमान घिसिङले आफू कमव्याक भएर प्राधिकरणमा आएपछि भएका वित्तिय तथा प्रशासनिक सुधार, विवरण तथा ग्राहकका अलवा प्रशारणतर्फ (आन्तरिक), अन्तरदेशीय, सडक बत्ती र चार्जिङ स्टेशनमा भएका प्रगति विवरण पत्रकारहरुलाई साक्षी राखेर सुनाइरहेका थिए ।
विगत २ वर्षमा उद्योगले मागेजति बिजुली दिएको घिसिङले जानकारी दिदैं थिए झ्याप बत्ती गएपछि पत्रकारहरुले हो हल्ला गरे । सुरुमा झण्डै २ मिनेट बिजुली गयो । त्यसपछि एक घण्टाको अन्तरालमा पाँच पटकसम्म बत्ति आउने जाने भइरह्यो ।
कुलमानले सिस्टममा डिस्ट्रब भएको भन्दै सञ्चारकर्मीहरुलाई आश्वास्त पार्न खोजि रहे । कुलमानका अनुसार प्राधिकरणले गत आर्थिक वर्षमा १२ अर्ब ३३ करोड रूपैयाँ नाफा कमाएको छ ।
आर्थिक वर्ष ०७७/७८ मा प्राधिकरणको नाफा ६ अर्ब १० करोड रूपैयाँ रहेको थियो । आर्थिक वर्ष ०७८/७९ मा खुद नाफा बढेर १३ अर्ब ३७ करोड पुगेको थियो । प्राधिकरण नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो ।




