चितवन । भरतपुर महानगरपालिका–९ स्थित टिकोली जङ्गलमा विभिन्न आठ सवारी साधन एकै ठाउँमा दुर्घटना भएको छ । दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना १ क ६१३१ नं को अक्सफोड कलेज गैँडाकोटको बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ च ८४४६ नं को शव बोकी देवघाटतर्फ जाँदै गरेको बोलेरोलाई ठक्कर दिएको हो ।
सोही दुर्घटनामा बा प्र ०६–००१ प ९९८१, बा प्र ०३–००५ प ९७, ना ६२ प ६०३२, बा प्र ०३–००१ प ४१४७ मोटरसाइकल र बा प्र ०६–००१ प २२९४ र बा प्र ०३–००२ प ४१९८ नं को स्कुटरसहित सम्पूर्ण सवारी साधन एक आपसमा ठोक्किँएको थियो ।
ठक्करबाट २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, ७ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत ७ जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सवारी साधनहरु घटनास्थलमा नै रहेका छन् ।




