काठमाडौं । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङ केन्द्रबिन्दु भएर आइतबार बिहान र साँझ गरी सात पटक भूकम्प गएको छ । बिहानै ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो भने साँझ ५.१ म्याग्नेच्युडको भूकम्प गएको छ ।
केन्द्रका अनुसार, आइतबार बिहान ७:३९ बजे धादिङको खरी आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसले २० घरमा क्षति पुगेको थियो भने केही चर्किएका थिए ।
त्यसपछि बिहानै लगातार तीन पटक भूकम्पको धक्का महसूस भएको थियो । आइतबार बिहान ८:०८ बजे ४.२ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसको केही बेरपछि बिहान ८:२८ बजे ४.३ म्याग्निच्यूड र ८:५९ बजे ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो ।
आइतबार अपराह्न ४:०३ बजे फेरि भूकम्प गएको केन्द्रले जनाएको छ । यो ४.४ म्याग्नेच्युडको थियो । त्यसपछि साँझ ५:३१ बजे धादिङ नै केन्द्रबिन्दु भएर पाँच म्याग्नेच्युडको भूकम्प गएको छ ।
त्यसको दुई मिनेटपछि ५:३३ बजे ५.१ म्याग्नेच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएका छ । बिहान गएको भूकम्पले घरमा क्षति गरेको थियो । साँझ गएको भूकम्पको असर बारे कतैबाट पनि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।




