काठमाडौं । परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो । पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ । सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो । दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन ।
कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन । साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि ११ बजेर २ मिनेटमा उपयुक्त समय छ ।
कसैलाई हतारो भएमा, टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन छ । पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन छ ।
बिहान घाम झुल्केपछि विधि विधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा पर्दैन । त्यसैले टीकाको साइतको दुविधा नपाले हुन्छ ।
अहिले त कतिपयहरुलाई दशैंको दिन ढिलोगरी नेपाल आउन पाउने बाध्यता पनि बन्न सक्छ । त्यस्तो अवस्थामा समेत साइत गुज्रिएकाले दुविधा पाल्नु पर्दैन । जतिबेला भएपनि मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्नु उपयुक्त हुन्छ ।




