रौतहट । ई-सेवाको कर्मचारी भन्दै १८ जनाबाट १५ लाख २० हजार ९ सय रूपैयाँ बराबरको धनमाल ठगी गरेको भन्दै ५ जनालाई रौतहटका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गौर नगरपालिका ५ बस्ने २६ वर्षीय नवनित कुमार कुशवाहा, २१ वर्षीय कन्हैया कुमार कुशवाहा, २० वर्षीय अभय कुमार यादव, २१ वर्षीय रितेश कुशवाहा र गढिमाई नगरपालिका ६ बस्ने १९ वर्षीय दिपेन्द्र कुमार यादव रहेका छन् ।
उनीहरूले विभिन्न मोबाइल नम्बरहरुबाट फोन सम्पर्क गरी म ईसेवाको आधिकारिक कर्मचारी हुँ, तपाईको ई-सेवा आईडी बैंक खातासँग लिंकअप तथा खाता नविकरण, केवाइसि अपडेट, खाता विवरण रुजु गर्न शुल्क नलाग्ने ५० प्रतिशत क्यास ब्याक रकम उपलब्ध गराईदिन्छु भनी पीडितहरुबाट उक्त रकम ठगी गरेका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रौतहटको समन्वयमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।




