काठमाडौं । २० वटा कम्पनीले सर्वसाधारणलाई ७ करोड ६० कित्ता सेयर जारी गर्न प्रक्रिया अघि बढाएका छन् । धितोपत्र बोर्डमा २० वटा कम्पनीले ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर जारी गर्न प्रक्रिया अघि बढाएका हुन् ।
यी मध्ये हिमालयन रि-इन्स्योरेन्स र भिजन लुम्बीनी उर्जा कम्पनीले भने सेयर निष्कासन अनुमति पाइसकेका छन् । धितोपत्र बोर्डले १२ वटा कम्पनीको आवेदनमाथि प्राथमिक चरणको अध्ययन गरिरहेको छ ।
त्यस्तै, अन्य दुई कम्पनीको प्राथमिक अध्ययन सकेर थप विवरण माग गरेको बोर्डले जनाएको छ । त्यस्तै ६ कम्पनीको भने थप विवरण मागेर स्वीकृतिका लागि अन्तिम चरणको अध्ययन गरिरहेको छ ।
अन्तिम चरणको अध्ययनमा रहेका कम्पनीमा आइएमई लिमिटेड, कान्तिपुर टेलिभिजन, ट्रेड टावर, एकर्ड फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल र सानिमा हाइड्रोपावर छन् ।
बोर्डबाट स्वीकृति पाइसकेका हिमालयन रि-इन्स्योरेन्स र भिजन लुम्बिनी उर्जा कम्पनीले भने सेयर जारी गर्न बाँकी छ । हिमालयनको ६ अर्ब १८ करोडको ३ करोड कित्ता सेयर जारी गर्न अनुमति पाएको छ ।
यस्तै भिजन लुम्बिनीले ३८ करोड २५ लाख रुपैयाँ बराबरको ३८ लाख २५ हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । बुक बिल्डिङ विधिबाट सेयर जारी गर्न रिलायन्स स्पिनिङ मिलको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।




