काठमाडौं । कात्तिक १० गतेदेखि माइतीघर मण्डलामा आमरण अनशनमा बसेकी मृतक चेतन मानन्धरकी पूर्वपत्नी भारती शेर्पा बिहिबार अपराह्नसम्म सर्वोच्चको निर्णय कस्तो आउला भनेर बेचैन थिइन् ।
लामो आमरण अनशनका कारण गलेकी उनी लखतरान हालतमा न्यायको पर्खाइमा थिइन् । जब सर्वोच्चको फैसला उनको पक्षमा आयो, क्षणभरमै बेचैन समाप्त भयो ।
सहयोगीसँगै भारती सर्वोच्चको प्रांगण पुगिन् । सर्वोच्चको दैलो अगाडिको पेटीमा निहुरिएर भक्कानिँदै लामो समयसम्म ढोगिरहिन् । सर्वोच्चबाटै उनले भनिन्, ‘कानुन मरेको छैन, मैले न्याय पाएँ ।’
यस पटक भारतीको दोस्रो आमरण अनशन थियो । यसअघि उनले गत असोज १७ गते अनशन गरेकी थिइन् । दशैंका कारण अनशन प्रभावित बनेको थियो । दशैंमा स्थगित अनशन उनले कात्तिक १० गतेबाट पुनः सुरु गरेकी थिइन् ।




