बीबीसी । भूकम्पको तेस्रो दिन म जाजरकोटको अति प्रभावित क्षेत्र नलगाड नगरपालिका वडा नम्बर १ को चिउरी भन्ने ठाउँमा छु । भूकम्पका कारण यहाँ मृत्यु भएका १३ जनाको सामूहिक दाहसंस्कार गर्ने तयारी भइरहेको थियो । २५ जनाको ज्यान गएको यो गाउँ पूरै शोकमा डुबेको छ ।
गाउँभरिका मानिसहरू लास वरपर कुरेर बसेको देखिरहेको छु । कोही लासमा झिँगा नलागोस् भनेर तीतेपातीले हम्किरहेका छन् त केही आफन्तको शवमा लगाइदिन माला गाँसिरहेका छन् । त्यसैगरी माला गाँसिरहेकी कमला रसाइलीसँग मैले कुरा गर्न खोज्दा उनी भूकम्पमा गुमाएकी बहिनी सम्झिएर भक्कानिइन् ।
“बहिनीलाई बचाउन सकिएन। अब उसले के लिने थिई र, यही माला लिने भई,” उनले आँसु थाम्न सकिनन् । कमला मात्रै होइन धेरै महिलाहरू यहाँ एकै ठाउँ पालमुनि बसेर माला गाँसिरहेका छन् । बालबालिका र वृद्धवृद्धा पनि लास वरपर बसेका छन्। धेरैले यही ठाउँमा रात बिताए । कोही निदाए । केहीले परकम्पको त्रासमा आँखा नझिम्काइ रात छिचोले ।
तिहारलाई फुलेका सयपत्रीको माला आफन्तको शवमा
तिहारको मुखमा गाउँभरि फुलेका सयपत्री पक्कै पनि लक्ष्मीपूजाको दिन घर सजाउन र भाइटिकाको दिन दाजुभाइको गला सजाउन फुलाइएका थिए । तर अहिले उनीहरू ती फूलका माला आफन्तको शवमा चढाउन गाँसिरहेका छन् । पूरै गाउँ वियोग र डरको दोहोरो मारमा बाँचिरहेको छ ।
कसैको एकै परिवारमा चार जनासम्म गुमेका छन् त कसैको घरमा तीन, कसैको घरमा दुई । तर यहाँ प्रत्येक मानिस शोकमा छन् । कोही परिवारका सदस्य गुमाएर, कोही आफन्त गुमाएर त कोही छिमेकी गुमाएर ।
मैले कुरा गर्न खोज्दा धेरैले भक्कानिएर बोली पुर्याउन सकेनन् । खुला ठाउँमा पुरुषहरू हरियो बाँस काट्न व्यस्त देखिन्छन् । दाहसंस्कार गर्ने ठाउँसम्म लासहरू पुर्याउन उनीहरू बाँस काट्ने काम गरिरहेका छन् ।
अनि साना नानी भएका आमाहरू बारीमा चुलो बनाएर केही पकाइरहेका छन् । “हाम्रो घरमा खाने अन्न सबै पुरियो । धेरै घरमा त्यस्तै भएको छ । जसको घरमा अन्न जोगियो त्यही घरको बाँडेर खाइरहेका छौँ,” एक स्थानीयले मसँग भनिन् ।
यो चिउरी भन्ने गाउँ वरपर घुम्दा मैले मुस्किलले सग्ला घर देख्न सकेको छु । केही घर पूर्ण रूपमा भत्किएका छन् । केही आंशिक रूपमा क्षति पुगेको छ भने केहीमा चिरा परेको छ । बजार वरपर केही सग्ला घर देखिए पनि पूरै गाउँमा अधिकांश घर भत्किएका छन् ।
राहतको पर्खाइमा बसेका यहाँका गाउँलेहरू अझै पनि गाँस र बाँसको आशामा बसेका छन् । हिजो अपराह्न १२ बजे सुर्खेतको वीरेन्द्रनगरबाट केही गाडी राहत सामग्री बोकेर म प्रभावित क्षेत्रमा समाचार सङ्कलनका लागि आएको थिएँ ।
६ बजेतिर सदरमुकाम आइपुग्दा खलङ्गामा सडक आसपासका बजार खुलेका थिए । धेरै मानिसहरू सडक छेउछाउमा थिए। त्यहाँबाट जिल्ला अस्पताल पुगेँ । भूकम्प पीडित चार जनाको उपचार भइरहेको थियो । ५५ जना बिरामीलाई सुर्खेत र नेपालगन्ज पठाइएको चिकित्सकहरूले जानकारी दिए ।
अस्पतालबाहिर एम्बुलेन्स र स्वास्थ्यकर्मीहरू परिचालित नै थिए । जति भूकम्प प्रभावित क्षेत्र नजिकिँदै आयो मानिसहरू त्यति नै भूकम्पले दिएको पीडा र परकम्पको डरबाट झस्किरहेका देखिन्थे ।
अलि अगाडि रहेको त्रिभुवन माध्यमिक विद्यालयमा राहत सामग्रीहरू थुप्रिएको थियो । बिजुली नभएका कारण मानिसहरू अँध्यारोमा टर्च बालेर ती सामाग्रीको थान्कोमुन्को गरिरहेका थिए । एक द्वार प्रणालीबाट राहत सामग्री सङ्कलन गर्ने र त्यसपछि बाँड्ने भन्ने देखियो जसका कारण भूकम्पले क्षति पुर्याएको गाउँमा राहत आइपुग्न सकेको छैन ।
राहत थन्कियो, अभावमा रहेकाले पाएनन्
भूकम्पले सबैभन्दा धेरै क्षति जाजरकोट जिल्लाको भेरी नगरपालिका र नलगाड नगरपालिकामा पुर्याएको छ । नलगाड नगरपालिकामा मात्रै ५६ जनाको मृत्यु भएको छ । यहाँ आउने क्रममा बाटोमा रुकुम पश्चिमको छेपारे भन्ने ठाउँमा घर भत्किएको र पशुहरू मरेको देखेँ । क्षतिपूर्ति नपाइएला भनेर राहतको आशामा ती मरेका भैँसीहरू मानिसहरूले त्यतिकै छोडेका छन् ।
छेपारे गाउँमा पाँच जनाको मानिस मरेको भन्ने विवरण पाएँ । बाटोमा आफन्तको दाहसंस्कार गरेर फर्किएका किरिया पुत्री आइरहेको देखेँ । त्यहाँ १४/१५ जना मानिसहरू खुला आकाशमै रात बिताइरहेका थिए ।
गाउँलेले जसको घरबाट अन्न झिक्न सकियो त्यही बाँडेर खाएको बताए । महिला, बालबालिका र वृद्धाहरू पहाडको चिसो सिरेटोमा जाडोबाट जोगिन आगो बालेर बसिरहेका थिए । मलाई आश्चर्य के लाग्यो भने एक द्वार प्रणालीबाट राहत बाँड्ने भन्दा अत्यधिक अभावमा रहेका गाउँलेहरूलाई राहत सामाग्री पाउन समय लाग्नेछ ।
बरु कुनै ठाउँ तोकेर सामग्री बाँड्न थाले उनीहरूलाई पीडाका माझ केही राहत हुने थियो । प्रभावित जाजरकोट र पश्चिम रुकुममा मानिसहरू आफन्त गुमाएको पीडामा मात्रै होइन फेरि परकम्पहरू आउँछ भन्ने त्रासमा छन् ।
राति पनि भूकम्पको धक्का गइरहेका कारण सुत्न नसकेको उनीहरू बताउँछन् । जिल्ला प्रशासन कार्यालयले मानिसहरूलाई घर बाहिरै बस्न निर्देशन दिएको थियो । पीडित गाउँलेहरूसँग म पनि एउटा टिनले बारेको विद्यालयमा राति सुतेको थिएँ ।
भूकम्पको धक्का गइरहँदा सुख्खा पहिरो अहिले पनि आइरहेको देख्न सकिन्छ । “फेरि भूकम्प गयो भने गाउँ नै भासिने वा बगाउने हो कि ?,” एक स्थानीय बासिन्दा प्रदीप विकले भने । “मर्ने त मरेर गए। तर हामी जतिन्जेल बाँचौला डर डरमा बाँच्ने भयौँ। बाचुन्जेल राम्ररी बाँच्न पाए हुन्थ्यो । कति दिन हो कष्ट बेहोर्नुपर्ने ?”
भूकम्प गएको भोलिपल्ट प्रधानमन्त्रीदेखि मन्त्रीहरूसम्म प्रभावित क्षेत्रको अवलोकन गर्न आएका थिए । तर, उनीहरू आएको क्षेत्र नजिकै गाउँका मानिसहरूले राहत पाएका छैनन् । कतिपय ठाउँमा भने सुरक्षाकर्मीहरू प्रधानमन्त्री र मन्त्रीको सुरक्षामा खटिँदा उद्धार र राहतमा भन्दा उनीहरूको सुरक्षामा धेरै समय बितेको भन्दै गाउँलेले गुनासो गरेको देखियो ।
गाउँलेको गुनासो र आशा
समयमै उद्धार हुन सकेको भए धेरैको ज्यान जोगाउन सकिने भन्दै गाउँलेहरूले गुनासो गरेका छन् । सरकारले अब भूकम्पबाट नढल्ने सुरक्षित घरहरू बनाइदिए हुन्थ्यो भन्ने आशा गाउँलेहरूको रहेको छ । आफन्त गुमाएको पीडा र भूकम्पको धक्काको त्रासमा रहेका गाउँलेहरूलाई परामर्श दिनुपर्ने आवश्यकता रहेको पनि मैले देखेँ ।
स्थानीय सरकार र जनप्रतिनिधि पनि राहत बाँड्ने विषयमा अलमलमा परेको देखियो । घरको क्षतिको विवरण अब सङ्कलन गर्न सुरु हुन लागेको छ । केही ठाउँमा भने सञ्चार हुन नसक्दा मानिसहरू आफन्त गुमाएको भन्ने झुटा विवरणका कारण पनि पीडामा छन् । मैले भेटेकी सम्झना विक भूकम्प जाँदा माइतीमा थिइन् ।
भूकम्पले माइतीघर भत्किँदा उनको फोन माटोमै पुरियो । उनलाई घरका मानिसहरू भूकम्पमा परे कि भन्ने डर लाग्यो । कसैले सबै जनाको ज्यान गएको भन्दिएछन् । जुन साँचो थिएन । यसरी पनि मानिसहरू झुटा विवरणका कारण पनि चिन्तामा छन् ।




