काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा तस्करबाट दुई वटा गैँडा मारिएका छन् । निकुञ्जको पूर्वी सेक्टर अन्तर्गत सतरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएको हो ।
उनले भने, ‘६ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।’ सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ ।
बिहिबार साँझ मात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए । यस वर्ष निकुञ्जमा चोरी सिकारीबाट पहिलो पटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँच वटा गैँडा मरेका छन् । गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुई वटा गैँडा मारेका थिए ।




