काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको मुद्धा खेपिरहेका लम्बोदर न्यौपानेलाई विशेष अदलातले २५ लाख धरौटीमा छुटाएको छ । नेपाल इञ्जिनियरिङ कलेजको अध्यक्ष हुँदा न्यौपानेले ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ गैरकानूनी खर्च गरेको देखिएको थियो ।
खर्च रकम मध्य न्यौपानेको नाममा झण्डै ८ करोड ९८ लाख रुपैयाँ गैरकानूनी रुपमा भुक्तानी भएको थियो । न्यौपानेले ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ तथा लेखा परिक्षणबाट खुल्न आएको बेरुजु सहितको २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ ठगी गरेको भेटिएको थियो ।
अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकसँग घुस डिलमा मुछिएका न्यौपानेसहित ९ जनाविरुद्ध २०७८ माघ २७ गते सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
०७० चैत २३ देखि २०७५ असोज १५ गतेसम्म सञ्चालक समितीको अध्यक्ष रहेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस रिसवत सम्बन्धि मुद्धाको कसूरमा ७८ लाख धरौटीमा रिहा भएका थिए ।
सोमबार विशेष अदालतका न्यायधीशद्धय यमुना भट्टराई र खुसीप्रसाद थारुको इजलासले थुनछेक सुनुवाई गरेको थियो । सो क्रममा विशेष अदालतले न्यौपानेसँग २५ लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो । न्यौपाने धरौटी बापतको रकम नगदै बुझाएर छुटेको विशेष अदालतले जनाएको छ ।




