काठमाडौं । काठमाडौंस्थित क्यासिनो माजोङले दक्षिण एसियास्तरको प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड प्राप्त गरेको हो । यस्तै, क्यासिनो माजोङका महाप्रबन्धक अमूल्य राणाले ‘बेस्ट क्यासिनो जनरल म्यानेजर साउथ एसिया’ अवार्ड प्राप्त गरेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीस्थित ‘हस्पिटालिटी इन्डिया’ले बर्सेनि संसारभरका होटल र क्यासिनोहरूलाई अवार्ड वितरण गर्दै आएको छ । नयाँ दिल्लीस्थित होटल अशोकमा आयोजित भव्य समारोहमा क्यासिनो माजोङले शुक्रबार (२४ नोभेम्बर) ती अवार्ड प्राप्त गरेको हो ।
क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड पाएको यो तेस्रो पटक हो । होटल सोल्टी परिसरको यो क्यासिनो नेपालकै नम्बर १ क्यासिनो हो । यसअघि क्यासिनो माजोङले तीनवटा अवार्ड सोही इभेन्टमा प्राप्त गरिसकेको छ ।
गत वर्ष सन् २०२२ मा उक्त क्यासिनोले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड पाएको थियो । सन् २०२० र २०२१ मा कोभिड महामारीका कारण अवार्ड वितरण भएन । यस्तै, सन् २०१९ मा पनि क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ अवार्ड पाएको थियो । र, सन् २०१८ मा ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड पाएको थियो ।
यस्तै, नेपालगञ्जस्थित क्यासिनो माजोङले ‘बेस्ट क्यासिनो इन नेपाल’ अवार्ड प्राप्त गरेको छ । दक्षिण एसियामा कसले बेस्ट हस्पिटालिटी कसले दिएको छ भनेर ‘हस्पिटालिटी इन्डिया’ले गम्भीर अध्ययनपछि अवार्डका लागि छनोट गर्छ ।
कुन क्यासिनोको ट्रान्जेक्सन कस्तो छ अनि भिजिटरको संख्या लगायत पाटोमा ‘हस्पिटालिटी इन्डिया’ले अध्ययन गरेर अवार्डका लागि छनोट गर्छ । र, सम्बन्धित मुलुकको बजारमा कसको बढी क्रेज छ र कुन क्यासिनो लोकप्रिय छ भनेर अध्ययनपछि मात्र अवार्डका लागि छनोट गरिन्छ ।
‘हस्पिटालिटी इन्डिया’मा भारतको पर्यटन क्षेत्रमा आबद्ध व्यक्तिहरू, भारतको पर्यटन बोर्ड, भारतीय पर्यटन मन्त्रालयका अधिकारीहरू आबद्ध छन् । भारत पर्यटन विकास निगम लिमिटेडको यसमा विशेष संलग्नता छ ।
भारतका पर्यटन तथा रक्षा राज्यमन्त्री अजय भट्ट, महाराष्ट्रका पूर्वगभर्नर तथा उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोस्यारी र गान्धी समितिका उपाध्यक्ष तथा पूर्व युवा तथा खेलकुद राज्यमन्त्री विजय गोयलले अवार्ड वितरण गरेका थिए । यो ‘इन्टरनेसनल हस्पिटालिटी एन्ड ट्राभल अवार्ड’को १८ औं शृंखला हो ।
ट्राभल एन्ड हस्पिटालिटी अवार्डमार्फत पर्यटन उद्योगका विभिन्न क्षेत्रका कम्पनीहरूलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने गरिन्छ । उत्कृष्ट होटेलहरू, क्यासिनोहरू, टुर अपरेटरहरू, स्पा एन्ड वेलनेस सुविधा प्रदायकहरू, रेस्टुराँ तथा प्रविधि र अन्वेषण कम्पनीहरूलाई उक्त अवार्ड प्रदान गरिँदै आएको छ ।




