झापा । खाडी मुलुक दुबईमा अलपत्र परेका श्रीमान् अकबर अन्सारीको सकुशल उद्दारका लागि श्रीमती अफ्रुज खातुनले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् । भद्रपुर ८ फूलबारी टोल निवासी खातुनले बिहिबार भद्रपुर नगरपालिका पुगेर आत्मदाहको प्रयास गरेकी हुन् ।
दुई महिनादेखि दुबईमा बन्दीसरह बसिरहेका श्रीमान् अन्सारीको सकुशल उद्दारका लागि खातुनले बिहिबार बिहान १० बजेतिर नगर प्रमुख गणेश पोखरेललाई भेट्न उनकै कार्यकक्ष पुगेकी थिइन् ।
खातुनले नगर प्रमुख पोखरेलसँग कुराकानी गर्दा गर्दै एक्कासी सलभित्र लुकाएर ल्याएको पेट्रोलको बोतल खोलेर शरीरमा छर्किइन् । त्यसपछि सलाई कोर्नै लाग्दा त्यहाँ उपस्थित कर्मचारीहरूले उनलाई बचाए । कुनै अप्रिय घटना भने भएन ।
भद्रपुरमा आफ्नै फर्निचर पसल सञ्चालन गरी बसेका ३९ वर्षीय अन्सारी आर्थिक समस्याका कारण काठमाडौं धुम्वाराहीस्थित सागर रिक्रुटमेन्ट प्राली म्यानपावरबाट गत असोज २८ गते दुबई गएका थिए । सागर म्यानपावरले फ्री भिसा, फ्री टिकटको नाममा अन्सारीसँग १ लाख ७५ हजार रुपैयाँ लिएका थिए ।
म्यानपावरले उनलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङमा फिनिसिङ कारपेन्टर (फर्निचरको काम) ११२० दिराम (करिब ४० हजार नेपाली रुपैयाँ) मासिक तलब दिने सर्त राखेर पठाएको थियो । तर, दुबई जेबेलअली पुगेपछि उनको काम फरक पर्यो ।
फिनिसिङ कारपेन्टर पठाएका उनीहरूलाई चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले त्यहाँ बेल्चा हान्न लगायो । लेबरको काम गर्दा उनी ९ दिनमै बिरामी परे । त्यसपछि उनकी श्रीमती उद्दारका लागि सबै समक्ष हारगुहार गर्न थालिन् । म्यानपावरले अन्सारीको उद्दारका लागि प्लेन भाडा माग्न थालेपछि उनका परिवार झन् समस्या परेको थियो ।




