बीबीसी । त्रेतायुगाकालीन भगवान् सीतारामको सम्बन्धलाई जीवन्त बनाउन भन्दै नेपालको जनकपुरधामले भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा हुन लागेको प्राण प्रतिष्ठाका लागि सुनचाँदी सहितका गहना र कोसेली पठाउन लागेको छ ।
जनकपुरधामस्थित जानकी मन्दिरका महन्त रामरोशन दास वैष्णवको नेतृत्वमा जान लागेको भार (कोसेली) का लागि आभूषण लगायतका सामग्री जुटाउने काम धमाधम भइरहेको छ ।
मिथिलाको परम्परागत कोसेलीहरू सहितको २ सय ५१ वटा भार औपचारिक रूपमा लिएर जाने तयारी भएको दासले बीबीसीलाई बताए । त्यसबाहेक श्रद्धालुहरूको तर्फबाट त्योभन्दा धेरै उपहार जाने अपेक्षा गरिएको उनले बताए ।
नजिकको साँस्कृतिक सम्बन्ध
भारमा ठेकुवा, भुसुवा, पेरुकिया, खजुरीया, फलफूल, पञ्चमेवा, साडी, धोती ,गरगहना, पलङ, टेबुल, कुर्सी, चुल्हो लगायतका सामग्री रहने बताइएको छ । जनकपुरधामबाट पुस १९ गते उक्त कोसेली बोकेर टोली अयोध्याका लागि प्रस्थान गर्ने बताइएको छ ।
हुलाकी राजमार्गबाट जाने भार सहितका श्रद्धालुहरूको पहिलो विश्रामस्थल वीरगन्ज हुनेछ । २० गते राति अयोध्या पुग्ने र २१ गते शनिवार भार राम मन्दिर ट्रस्टलाई हस्तान्तरण गरिने रोशन दासले जनाए । उक्त टोलीमा सन्तमहन्तहरूको सहभागिता रहने उनले बताए ।
नेपालका विभिन्न नदीहरूबाट सङ्कलन गरिएको पवित्र जलसहितको कलशलाई बिहीवार नै अयोध्या पठाइएको छ । धार्मिक सङ्घ संस्थाहरूले सङ्कलन गरेको पवित्र जलले मन्दिरमा प्राणप्रतिष्ठा हुने बेला अभिषेक गरिने बताइएको छ ।
मिथिलामा छोरीज्वाइँले नयाँ घर निर्माणगरी गृह प्रवेश गर्दा माइतीबाट कोसेली जाने चलन रहिआएको छ । ससुरालीबाट आएका वस्त्र लगाएर नवगृहमा प्रवेश गर्ने चलनलाई निरन्तरता दिन लागिएको आचार्य पण्डित सन्तोष पाण्डेयले बताए ।
हरेक वर्ष सीताराम विवाह महोत्सवमा अयोध्याबाट जन्त आउने गरेको छ । भगवान् सीता र रामबीच विवाह भएको सम्झना गर्दै दुवै देशका श्रद्धालुहरूले विभिन्न उत्सवहरूमा सहभागिता जनाउने गरेको पाण्डेयले जनाए ।
जनकपुरमा कस्तो छ वातावरण
जनकपुर र आयोध्याबीच भगिनी सम्बन्ध छ । भारत र नेपालका अधिकारीहरूले यी गन्तव्यहरू समेटेर रामायण सर्किट विकास गरिने बताउँदै आएका छन् । सन् २०१८ मा जनकपुरको भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नेपाली समकक्षीसँग मिलेर जनकपुर अयोध्या सीधा बस सेवा सुरुवात भएको घोषणा गरेका थिए ।
राम मन्दिरको प्राणप्रतिष्ठा आगामी ज्यानुअरी २२ मा हुने तयारी चलिरहँदा त्यसको रौनक जनकपुरमा देखिएको छ । जानकी मन्दिरको तर्फबाट जाने कोसेलीका लागि सर्वसाधारणहरूले पनि चाँदी लगायतका विभिन्न आभूषणहरू बनाउन थालेका छन् ।
जनकपुरधाममा रहेको लक्की ज्वेलरीमा अयोध्या पठाउने गर गहना बनाउनेहरूको भिड बढेको छ । उद्योगका सञ्चालक पवन ठाकुरका अनुसार चढाउन विभिन्न गर गहना लगायत पूजा सामग्री बनाउने काम भइरहेको छ ।
अयोध्यामा निर्माण भएको राम मन्दिरको उद्घाटनका लागि यहाँबाट पठाइने सुनचाँदीको कोसेलीले गर्दा कारोबारमा वृद्धि भएको ठाकुरले बताए । जनकपुरधामबाट भार लिएर जानेहरूका लागि जानकी मन्दिर परिसरमा एउटा शिविर नै खडा गरिएको छ ।
शिविरमा सक्रिय रहेका नेपाली कांग्रेसका नेता मनोज कुमार चौधरीका अनुसार श्रद्धालुहरूले सहयोग राशि लगायतका सामग्रीहरू जम्मा गरिरहेका छन् । भारसँगै अयोध्या जाने श्रद्धालुहरूको सङ्ख्या यकिन नभएपनि ५ सयभन्दा बढी रहने ठानिएको छ ।
भगवान् रामको प्राणप्रतिष्ठा समारोहमा सहभागिताका लागि राम मन्दिर ट्रस्टले जानकी मन्दिरका मूल महन्त रामतपेश्वर दास वैष्णव र उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवलाई आमन्त्रण गरिएको छ ।
माघ ६ गते हुने प्राणप्रतिष्ठामा सहभागिताका लागि माघ २/३ गते अयोध्याका लागि प्रस्थान गर्ने महन्त रामतपेश्वर दास वैष्णवले बताए । महन्त रामरोशन दास भने पुस २१ गते देखि नै अयोध्यामा रहने छन् । जानकी मन्दिर स्वामित्वको मन्दिर अयोध्यामा पनि रहेको छ ।




