खोटाङ । ऐसेलुखर्क गाउँपालिका १ राखाबाङ्देलस्थित स्वास्थ्यचौकी भवन ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने उक्त भवन ठेकेदार कम्पनी गौरी पार्वती न्यु टेक्निकलको चरम ढिलासुस्ती तथा लापरबाहीका कारण अलपत्र परेको हो ।
भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खाल नै निर्माण भएको छैन । गौरी पार्वती न्यू टेक्निकल जेभीले २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्ने गरी २०७७ मङ्सिर ११ गते स्वास्थ्य चौकी भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
पटक पटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्य चौकीको भवनको बाँकी काम गरेको छैन । उक्त कम्पनीले काम पूरा नगरेकामा आक्रोशित शहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुङ्गाका प्रमुख प्रभाकर कर्णले जानकारी दिए ।
कम्पनीलाई कारबाही गर्नुको विकल्प नरहेको बताउँदै प्रमुख कर्णले अब पनि काम भएन भने कारबाही गर्छौँ भनेर अन्तिम पटक ताकेतापत्र पठाइएको जानकारी दिए ।
गौरी पार्वती न्यू टेक्निकल जेभीले भ्याट बाहेक रु ७ करोड ४० लाख ८४ हजार २९६ मा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का पाएको थियो ।




