भोजपुर । उत्तरी क्षेत्रको विकासे ढोका मानिएको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलाको निर्माणाधीन मोटरेबल पुल भत्किएको छ । प्राविधिक निर्माण र ठेकेदारको लापरबाहीका कारण उक्त निर्माणाधीन पुल ढलान अगावै भत्किएको हो ।
प्रदेश सरकारको ६ करोड ३० लाख रुपैयाँ लागतको उक्त पुल आर्थिक वर्ष ०७८/७९ को योजनाबाट निर्माण ठेक्का आह्वान गरिएको थियो । पुल निर्माण सम्पन्न गर्ने जिम्मा पाएको दिव्यज्योति धनञ्जय जेभीले चालू आर्थिक वर्षभित्र पुलको काम सक्ने गरी काम गरिरहेको थियो ।
पुलको दुवै पिल्लरमा सिमेन्ट स्ल्याप बनाउन रड बिछ्याइए पनि स्काफोल्डिङ (फलामका टेकाहरू) काठको चेक दिने क्रममा अनियन्त्रित भई पुल टुटेको प्राविधिक निचोड छ ।
पुल नहुँदा उत्तरी भेगका नागरिकलाई जोखिमपूर्ण झोलुंगे पुल तथा फड्केको सहायतामा नदी वारपार गर्ने गरेका छन् । पुल भत्किएपछि स्थानीय निराश बनेका छन् ।
ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ । स्थानीयले ठेकेदार, ठेकेदार कम्पनीको लापरबाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन् ।
पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयको माग छ ।
यस्तै, ठेकेदार कम्पनीको लापरबाहीकै कारण निर्माणका क्रममा भाँचिएको दक्षिणी कावाखोलाको पुल वर्षदिन बित्दासमेत पुनःनिर्माण हुन सकेको छैन । हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने उक्त पुलको पुनः निर्माण अझै अलपत्र बनेको छ ।
गत मंसिर ११ गते प्रदेश १ सरकारको पहलमा स्विस सरकारको ५ करोड अनुदान सहयोगबाट बनेको उक्त पुलको पुनःनिर्माणमा व्यवास्ता गरेको देखिएको छ । ०७८ चैत मसान्तसम्म काम सक्ने सर्वपक्षीय निर्णय भए पनि अहिलेसम्म उक्त पुल बेवारिसे अवस्थामै रहेको छ ।
भोजपुर मानेभञ्ज्याङ रानीबास घोडेटार सडकखण्डमा पर्ने उक्त पुलको काम २०७७ असार मसान्तसम्म सक्नुपर्ने प्रावधान थियो । तर, समयमा सम्पन्न नभएपछि पछि पुनः म्याद थपिए पनि निर्माण सामाग्री नै गुणस्तरहीन भएकाका कारण पुल भाँचिएको प्राविधिक अनुगमनले देखाएको छ ।




