काठमाडौं । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका ११ थानाभर्याङ स्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको हो ।
बुधबार बिहान पौने ७ बजेतिर मोटरसाइकल हेटौंडाबाट नवलपुर जाँदै गरेको थियो । मोटरसाइकलले डडेल्धुरा आतिलाल गाउँपालिका ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीलाई ठक्कर दिएको हो ।
प्रहरी जवान एडी फिजिकल ट्रेनिङ पिटी गर्नेक्रममा दौडिरहेका थिए । त्यसक्रममा थानाभर्याङमा मोटरसाइकल अनियन्त्रित भई प्रहरी जवान एडीलाई ठक्कर दिएको थियो । दुर्घटनापछि घाइते भएका प्रहरी जवान एडीलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको थियो । त्यहाँ चिकित्सकले साढे ७ बजे मृत घोषणा गरेका थिए ।
घटनामा मोटरसाइकल चालक हेटौंडा ४ हुप्राचौर बस्ने ४१ वर्षीय लक्ष्मण लामा पनि घाइते छन् । उनको टाउको र हातमा चोट लागेको छ । उनलाई पनि हेटौंडा अस्पताल लगिएकोमा त्यहाँबाट थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।
मोटरसाइकलले अन्य दुई जना प्रहरीलाई पनि ठक्कर दिएको थियो । बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी जवान नवराज सार्कीको दायाँ हात र प्रहरी जवान विजय खत्रीको बायाँ खुट्टा, हातमा चोट लागेको हो । उनीहरू सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।




