पश्चिम नवलपरासी । इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक श्याम प्रकाश यादवको नेतृत्वमा खटि गएको प्रहरी टोलीले ३९ लाख ४९ हजार १७ रुपैया बराबरको सामान नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान ४ बजे जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ९ चण्डालचोक स्थित नेपाल-भारतको सिमा नाकाबाट बेलाटारी तर्फ आउँदै गरेको प्रदेश नं. ३ ०१-००२ च ८९९६ नम्बरको कारसहित सामानहरु बरामद गरेको छ ।

उक्त कारभित्र ६ पेटी अन्दाजी मूल्य २९ लाख ४९ हजार १७ रुपैया बराबरको सर्जिकल सामाग्री तथा विभिन्न प्रकारका औषधीहरु र कारको अन्दाजी मुल्य १० लाख गरि ३९ लाख ४९ हजार १७ रुपैया बराबरको समान ईलाका प्रहरी कार्यालय बेलाटारीले नियन्त्रणमा लिएको हो ।
गोरखा जिल्ला गण्डकी गाउँपालिका वडा नं. ४ भेडाबारी बस्ने वर्ष ३० को सुजन भन्ने विवेक पोखरेल र बागलुङ जिल्ला बडिगाड गाउँपालिका वडा नं. ५ बस्ने वर्ष २९ को अभिषेक खरेलसहित औषधी र कारलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय परासीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी प्रमुख यादवले कार्यालय जिम्मेवारी समालेदेखि चोरी तस्करी र अपराधिक गतिविधि घट्दो क्रममा रहेको स्थानीयले बताउँछन् । प्रहरी स्रोतका अनुसार प्रहरी निरीक्षक यादवले चोरी तस्करी नियन्त्रण गर्न आफ्ना मातहतका सबै प्रहरी चौकीका प्रमुखलाई कडा निर्देशन दिएको छन् ।




