रौतहट । रौतहटको चन्द्रपुरमा अवस्थित साथी शिक्षा सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाद्वारा संचालित बालनिकेतन माविको सभाहलमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो ।
साधारण सभामा बोल्दै प्रमुख अतिथी चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नसरे आलमले सहकारीले न्युन आय भएका नागरिकको आर्थिक उपार्जन मात्रै नभई शैक्षिक लगायतका क्षेत्रमा काम गर्न सक्छन् भन्ने ज्वलन्त उदाहरण बन्न सफल भएको बताउनुभयो ।
यस्तै सहकारी भविष्य निर्माणसँग जोडिएको बताउँदै साथी शिक्षा सहकारीको उदयसँगै बालबलिकालाई शिक्षा प्रदान गर्नु सराहनिय कार्य रहेको प्रमुख अतिथी आलमले बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रामकुमार भटराईले आगामी योजनाको बारेमा शेयर सदस्यहरुलाई जानकारी दिनुभएको थियो । उहाँले विद्यालयका लागि आवश्यक भौतीक पूर्वाधार र तथ्यले सहकारी विद्यालय मजबुत रहेको बताउनुभयो । बालनिकेतन जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा पहिचान बनाउँदै गरेको उहाँको भनाई थियो ।
नेपालमा अबका दिनमा विद्यार्थी र शैक्षिक जनशक्तिको चुनौती हुने आंकलन गर्दै उहाँले दीगोपना हुने गरी सबैले शिक्षा क्षेत्रमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यालयका शैक्षिक संयोजक विपल्प भट्टराईले नियमित क्रियाकलाप, संस्थागत एवम् शैक्षिक विकास, कल्याणकारी तथा अतिरिक्त कार्यक्रम, भौतिक पूर्वाधार तथा आर्थिक सक्षमता सम्बन्धि विभिन्न कार्यक्रम प्रस्ताव सहित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा कोषाध्यक्ष किरण रेग्मीको अनुपस्थितीमा उहाँकै सहमतीमा आर्थिक वर्ष २०७९ ÷२०८० को प्रतिबेदन संस्थाका संचालक समिती सदस्य बालकृष्ण श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार संस्थाले २५ लाख १४ हजार ४ सय २७ पैसा आम्दानी गरेको छ ।
कार्यक्रमको संचालन संस्थाका महासचिव दिपक रेग्मीले गर्नुभएको थियो । कार्यक्रमको संचालन गर्दै उहाँले बालनिकेतन स्कुलले अगामी दिनमा नागरिकलाई सम्मान, स्वास्थ शिविर, मन्टेश्वरी संचालन गर्ने लगायत शिक्षकहरुको क्षमता बिस्तारका लागी विभिन्न कार्यक्रमहरु गर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सदस्य मदन सापकोटाले राख्नु भएको थियो । संस्थाले उत्कृष्ट शिक्षकको रुपमा विपल्प भट्टराईलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा नव विकास साकोसका देवबहादुर सापकोटा, संकल्प साकोसका विभु पोखरेल, लाईन्स कल्वका नारायण सापकोटा, जनजागृती स्कुलका प्रधानाध्यापक सत्रुधन साह, गुजराका शिक्षा संयोजक शिव मंगल साह लगायतको आतिथ्यता रहेको थियो ।




