काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दाङको भालुबाङस्थित राप्ति नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।
दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीका अनुसार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो । उनका अनुसार हालसम्म आठ यात्रुको मात्र सनाखत हुन सकेको छ । अन्य मृतकको सनाखत हुन सकेको छैन । शवलाई लमहीस्थित लमही अस्पतालमा राखिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौंको चन्द्रागिरि नगरपालिका ५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत रहेका छन् ।
यस्तै बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।
उनका अनुसार पाँच वटा एम्बुलेन्समा घाइतेलाई शिक्षण अस्पताल ल्याइएको थियो । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्वलबहादुर सिंहका अनुसार नमस्ते यातायातको भे १ ख ३९१२ नम्बरको बस गएराति १०:३० बजे राप्ति नदीमा खसेको हो ।
प्रहरीले बसका चालक सल्यान घर भएका २८ वर्षिय लालबहादुर नेपालीलाई नियन्त्रणमा लिएको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




