काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन् । १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका २ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन् । आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेमा कार्यरत करारका अहेव हुन् ।
मावली हजुरमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्य चौकी गएको बेला मगरले हजुरमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बहानामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बराहपोखरी ९ क १० को दाबी छ ।
घटनाको अनुसन्धानको सिलसिलामा आरोपितलाई माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । मगरले गत पुस २९ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ ।
स्वास्थ्यचौकीबाट घर फर्काए लगत्तै हजुरमाको मृत्यु भएको र काजकिरियाको काममा लाग्दा उजुरी दिन ढिलाइ भएको पीडितको भनाई छ । माघ ११ गते हजुरमाको काजकिरिया सकेपछि मात्रै पीडित प्रहरी चौकी धर्तुङ पुगेकी थिइन् ।




